Thaha

Friday 26 April - 6:22 am NST

मदिरा बेच्ने बृद्धा ग्राहकबाटै बलात्कृत

काठमाण्डौं, जेठ २५ । सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै आज बिहान बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् । बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

बलात्कारका आरोपित सिरहा नपा–१७ खैरटोकाका ४२ वर्षीय अकरु पासवानलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । आरोपित पासवान बलात्कृत महिलाको घरमा मदिरा पिउन गएका थिए । मदिरा पिएपछि मातिएका पासवानले मदिरा बिक्री गर्ने ५५ वर्षीया वृद्धालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले पनि मदिरा सेवन गरेकी थिइन् । रासस