Thaha

Friday 26 April - 6:46 pm NST

‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ कार्टुनिष्ट वात्यासनलाई

FNJ Nepal

 काठमाडौं, १८ बैशाख । नेपाल पत्रकार महासंघले ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ यो वर्ष वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गर्ने भएको छ । 
बैशाख २१ गते चितवनमा हुने केन्द्रीय साधारणसभामा कार्टुनिस्ट बराललाई पुरस्कृत गर्ने निर्णय भएको महासंघका महासचिव उजिर मगरले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।  यो पुरस्कारको राशि १ लाख रुपैयाँ छ । महासंघले पूर्वसभापति गोविन्द वियोगी र वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्णसेन ‘ईच्छुक’काम नाममा राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वियोगी र ईच्छुकको नाममा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार त्यससम्बन्धी कार्यविधि तयार गरी छिट्टै प्रदान गर्ने महासंघले जनाएको छ । यस्तै, पूर्व केन्द्रीय सदस्य स्वर्गीय गौरी कठायतको स्मृतिमा स्थापित १५ हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ कालिकोटका तुलाराम पाण्डे, १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ कैलालीका गणेश चौधरीलाई दिइनेछ । 
यसैगरी, मोरङका शिवबहादुर कार्की, सुनसरीका याम प्रधान, सिरहाका दिनेश देव, काठमाडौंकी धन लामा, चक्रपाणि नेपाल चेतबहादुर सिं, नवलपरासीका लालकुमार भट्टराई, कास्कीका बद्रीविनोद प्रतीक, नारायण भट्टराई, प्यूठानका झपेन्द्र वैद्य र सुर्खेतका चिरञ्जीवी अर्याललाई यसवर्ष प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गर्ने महासंघले जनाएको छ । बैठकले साधारणसभामा प्रस्तुत गरिने सांगठनिक, आर्थिक प्रतिवेदन र संशोधन सहितको प्रस्तावित विधानलाई अन्तिम रुप दिएको विज्ञप्तिमा उल्लेख छ ।