Thaha

Saturday 27 April - 5:11 am NST

सशस्त्रका पूर्व महानिरीक्षक ओलीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाण्डौ, माघ २९ ।
एक करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओलीविरुद्ध मुद्दा दायर भएको छ । पूर्व महानिरीक्षक ओलीले पदमा कार्यरत रहँदा सामान नै ढुवानी नगरी झुठा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै उनीसहित सातजना प्रहरी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गरेको हो ।

ओलीलाई भ्रष्टाचारमा सघाएको आरोपमा पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर कार्की, सशस्त्र प्रहरी निरीक्षकहरु विनबहादुर थापा, मनुहिरा थापा, शिव अधिकारी र सशस्त्र प्रहरी नायब निरीक्षकद्वय देवेन्द्रकुमार श्रेष्ठ र लेखबहादुर खत्रीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

सशस्त्रका पूर्व महानिरीक्षक ओलीले २०६३ वैशाख २९ देखि २०६५ चैत्र ३१ गतेसम्मको तीन वर्षको अवधिमा सामान ढुवानी नै नगरी  सञ्चालनमा नभएका ट्रान्सपोर्ट कम्पनीहरुको झुठ्ठा बिल बनाएर १ करोड १४ चौध लाख ५४ हजार उन्नपचास रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरेको छ ।