Thaha

Monday 29 April - 3:36 am NST

आज हरिबोधिनी एकादशी, सखरखन्ड, पिँडालुलगायत खाएर मनाइँदै


काठमण्डौं, ६ मंसिर ।
आज हरिबोधिनी एकादशी, हिन्दुधर्मालम्वीहरुले भगवान विष्णुको पूजा अर्चना गरेर मनाउँदैछन । आषाढ शुक्ल एकादशिका दिन रोपिएको तुलसीको आज विशेष रुपले पूजा अर्चना गरेर विवाह गर्ने धार्मिक प्रचलन छ । आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । 
मुर नामक राक्षसको बध गरिने बेला जमिनबाट आएको आवाजले भगवान विष्णु ब्यूँझिएको दिनलाई स्मरण गर्दै आज भगवान विष्णुको पूजा अर्चना गरिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । 
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । 
ठूलो एकादशी पनि भनिने आजको दिन  काठमाडौँ उपत्यकाका चार नारायण, गुल्मीको रिडी, पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी लगायतका ठाउँमा विशेष मेला लाग्छ ।