Thaha

Friday 26 April - 12:05 pm NST

शिवपुरमा हिमाली कालोभालु, थार र साम्बर फेला


काठमाण्डौं, ५ भदौ । जनावरविद्हरुको अध्ययनबाट शिवपुरी राष्ट्रिय निकुञ्जमा हिमाली कालोभालु, थार र साम्बर भेटिएको छ ।

अमेरिकाको पेट्रियट चिडियाखानाका डाक्टर पाउल समेतको अध्ययन टोलीले शिवपुरीमा जनावरको अवस्था, बासस्थान र संख्याका विषयमा प्रारम्भिक अध्ययन गरेको छ । अध्ययन अनुसार सानो क्षेत्रफल भएपनि विभिन्न प्रकारका जनावरले आआफ्नो क्षेत्र निर्धारण गरेर बसेको पाइएको अनुसन्धानमा संलग्न जनावरविद् एवं जैविक विविधता अनुसन्धान समाजका डाक्टर मुकेश चालिसेले जानकारी दिनुभयो । अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी, निकुञ्ज विभागका अनुसन्धानकर्ता समेत संलग्न थिए ।

निकुञ्ज विभागले अध्ययन प्रतिवेदनका आधारमा शिवपुरी राष्टिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको राम्रो ठाउँका रुपमा बिकास गर्ने योजना बनाएको छ । यसअघि शिवपुरीमा जनावरको अध्ययन अनुसन्धान हुन सकेको थिएन । त्यहाँ रतुवा मृग, मलसाप्रो, फ्याउरो, चितुवा, बदेल लगायतका जनावर पनि पाईन्छ ।  काठमाडौंबाट नजिक भएकाले पनि विदेशी अनुसन्धानकर्ताको प्रमुख आकर्षकको केन्द्र बन्नसक्ने जनावरविद् डाक्टर चालिसेले बताउनु भयो ।

जनावरकोद्वन्द्वका विषयमा अध्ययनगर्न पनि शिवपुरी निकै महत्वपूर्ण ठाउँ बन्ने अनुसन्धानबाट देखिएको छ । यसवर्षको अन्तिमसम्म त्यहाँको विस्तृत अध्ययन गरिसक्ने उहाँले जानकारी दिनुभयो ।