Thaha

Friday 26 April - 3:24 pm NST

रियो ओलम्पिकमा चार वटा कीर्तिमान


काठमाडौं, साउन २४ गते । रियो ओलम्पिकमा गएराति चार वटा विश्व रेकर्ड कायम भएका छन् । पौडीमा तीन र भारोत्तोलनमा एउटा विश्व रेकर्ड कायम भएको हो । पौडीतर्फ महिला ४ सय मिटर फ्रिस्टाईलमा अमेरिकी क्याथलिन लेडेक्कीले ३ मिनेट ५६ दशमलव ४६ सेकेन्डको किर्तिमान कायम गरिन् । उनले ओलम्पिकमा फ्रान्सकी क्यामिली मुफ्फात र पान प्यासिफिक च्याम्पियनसीपमा आफैले बनाएको किर्तिमान तोडेकी हुन् । पौडीकै पुरुष १ सय मिटर ब्रेस्ट स्ट्रोकमा बेलायती एडम पिटीले आफ्नै रेकर्ड तोड्दै ५७ दशमलव १३ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । महिला सय मिटर बटरफ्लाईमा स्वीटजरल्याण्डकी सराह जोस्ट्रोमले पौडी विश्व च्याम्पियनसीपमा आफैले बनाएको रेकर्ड तोडेर ५५ दशमलव ४८ सेकेन्डको नयाँ किर्तिमान बनाईन् । पौडीतर्फ पुरुष ४ गुणा  सय मिटर फ्रिस्टाईल रिलेमा स्वर्ण पदक जित्दै अमेरिकी माईकल फेल्प्सले ओलम्पिकमा व्यक्तिगत स्वर्ण पदक संख्या १९ पु¥याएका छन् ।

ओलम्पिकमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी फेल्प्सको कुल पदक संख्या भने २३ छ । गएराति ओलम्पिकमा भारोत्तोलनको पुरुष ५६ केजी तौल समूहमा चीनका लङ्ग किङ्गक्वानले ३ सय ७ केजी उठाउँदै नयाँ विश्व कीर्तिमान कायम गरे । पछिल्लो पदक तालिकामा ३ स्वर्ण, ५ रजत र ४ काँस्य सहित अमेरिका शीर्ष स्थानमा छ । यस्तै ३ स्वर्ण, २ रजत र ३ कास्य सहित चीन दोश्रो, ३ स्वर्ण ३ कास्य सहित अष्ट्रेलिया तेश्रो, २ स्वर्ण, ३ रजत र २ कास्य सहित ईटली चौथो र २ स्वर्ण, २ रजत र १ काँस्य पदक सहित दक्षिण कोरिया पाँचौं स्थानमा रहेको छ ।