Thaha

Wednesday 24 April - 8:14 am NST

ग्रीष्मकालिन ओलम्पिक खेलकुद शुरु हुदैँ

काठमाडौं, साउन २१ । ग्रीष्मकालिन ओलम्पिक खेलकुद ब्राजिलको रियो दि जेनेरियोमा आजदेखि शुरु हुँदैछ । माराकाना रंगशालामा स्थानीय समय अनुसार राती ८ बजेदेखि ओलम्पिकको औपचारिक उद्घाटन समारोह शुरु हुनेछ । ओलम्पिकमा २ सय ६ देश र ब्राजिलको एउटा शरणार्थी टिम गरी २ सय ७ राष्ट्रका १० हजार ५ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा  गर्दैछन । अगस्ट २१ तारिख सम्म चल्ने प्रतियोगिता अन्तर्गत ब्राजिलका ३७ ठाउँमा विभिन्न ४२ खेलका ३ सय ६ प्रतिस्पर्धा हुनेछन् । रियो ओलम्पिकको यस संस्करणमा नेपालका ७ खेलाडिले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । पौडीकी गौरिका सिंह सबैभन्दा कम उमेरको खेलाडीका रुपमा सहभागीता जनाउंदैछिन् । उनीसँगै नेपालका तर्फबाट जुडो खेलाडि फुपूल्हामू खत्री, पौडीका शिरीष गुरुङ, आर्चरीका जितबहादुर मोक्तान तेक्वान्दोका निशा रावल, एथ्लेटिक्सका सरस्वती भट्टराई र हरिकुमार रिमालले भाग लिँदैछन । आर्चरीमा नेपालका जितबहादुरले आज प्रतिस्पर्धा गर्नेछन् ।