Thaha

Friday 26 April - 8:55 am NST

विद्रोही समूह आईएसको खतरा समाप्त नभएको अमेरिकी राष्ट्रपतिको भनाई,


काठमाडौं, साउन २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया र ईराकमा विद्रोही समूह आईएस विरुद्धको संघर्षमा महत्वपूर्ण उपलब्धी हासिल भएपनि समूह अझै पनि खतराका रुपमा रहेको बताउनुभएको छ । उहाँले आईएसले केही क्षेत्रमा आफ्नो पकड गुमाउँदै गएपनि अन्यत्र आक्रमण गर्न शुरु गर्ने खतरा समाप्त नभएको बताउनुभएको हो । सुरक्षा अधिकारीहरु संगको छलफल पछि सन्चारकर्मी संग कुरा गर्दै राष्ट्रपति ओबामाले एक वर्षको अवधिमा सिरिया या ईराकमा आईएस सफल नदेखिएको बताउनुभयो । आईएसले अमेरिका वा नेटो साझेदारहरुलाई पराजित गर्न नसक्ने भन्दै उहाँले यदी नेताहरुले गलत निर्णय लिए अमेरिका पराजित हुने चेतावनी पनि दिनुभयो । ओबामाले ६७ देशको नेतृत्वमा अमेरिकाले आईएसलाई समाप्त पार्ने साझा अभियान जारी नै राख्ने पनि बताउनुभएको बिबिसीले जनाएको छ । ओबामाकाअनुसार गठबन्धन सेनाको नेतृत्व गर्दै अमेरिकाले आईएसको पकड रहेका क्षेत्रमा १४ हजार भन्दा बढी हवाई आक्रमण गरेको छ । यसैबीच ईजिप्टको सेनाले विद्रोही समूह आईएसका सिनाई प्रान्तका प्रमुख सहित थुप्रै लडाकु मारिएको दावी गरेको छ ।

सिनाई प्रान्तको अन्सर बेईत अल मकदिस समूहका लडाकु लक्षित हवाई आक्रमणमा समूहका प्रमुख अबु दुआ अल अन्सारी सहितका लडाकु मारिएको सेनाले दावी गरेको हो । अल अरिश नगर नजिकै विद्रोहीको गढलाई लक्षित गरी आक्रमण गरिएको बिबिसीले जनाएको छ । सेनाले भनेको छ– हवाई आक्रमणमा ४५ भन्दा बढी आतंकवादी मारिएका छन् । अरु दर्जनौं घाईते भएका छन् भने थुप्रै हतियार नष्ट गरिएका छन् ।