Thaha

Friday 26 April - 4:11 pm NST

अस्पतालमा बम विष्फोट हुँदा पाकिस्तानमा ५३ जनाको मृत्यु,


काठमाडौं, साउन २४ गते । पाकिस्तानको क्वेटामा रहेको सरकारी अस्पतालमा विस्फोट हुंदा कम्तिमा ५३ जना मारिएका छन् । ५६ जनाभन्दा घाईते भएको जीओ टीभीको अनलाईन संस्करणले जनाएको छ । बलूचिस्तान प्रान्तको राजधानी क्वेटाको सरकारी अस्पतालको दुर्घटना तथा ईमरजेन्सी विभागमा बिहान आत्मघाती विस्फोट भएको अलजजिराले लेखेको छ । यसअघि आजै बिहान बलूचिस्तान बार एशोसिएशनका अध्यक्ष बिलाल काशीको गोली हानी हत्या गरिएको थियो । कानुन व्यवसायीहरुले बिलालको शव अस्पतालको आपतकालीन कक्षबाट लिएर निस्कदै गर्दा विस्फोट भएको बलूचिस्तानका गृहमन्त्री सरफराज बुगतीले बताउनुभएको छ । विस्फोटमा बलुचिस्तान बारका पूर्व अध्यक्ष बाज मुहम्मद ककार घाईते भएका छन् भने मारिएकामध्ये धेरैजसो वकिल रहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटमा केही पत्रकार पनि परेको जियो टिभिले जनाएको छ । एएन आज न्यूजका क्यामेराम्यान मारिएको समाचारमा उल्लेख छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले विस्फोटको निन्दा गर्नुभएको छ । विस्फोटको अहिलेसम्म कुनै संगठनले जिम्मा लिएको छैन । बलुचिस्तानका मुख्यमन्त्री सनाउल्लाह जेहरीले भने आक्रमणमा भारतको हात रहेको बताएको समाचारमा उल्लेख छ । जेहरीले आक्रमणमा भारतीय गुप्तचार संस्था रअको हात रहेको जीओ न्यूजलाई बताएको दैनिक भास्करले लेखेको छ ।