Thaha

Friday 19 April - 2:07 am NST

अमेरीकाले रोक्यो पाकिस्तानलाई दिंदै आएको ३० करोड डलरको सहयोग

काठमाण्डौं, साउन २० । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको ३० करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग रकम रोकेको छ । अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानले विद्रोही समूह हक्कानी नेटवर्कलाई सहयोग गरेको आरोपमा सहयोग रकम रोक्ने निर्णय गरेको जनाएको छ ।

अमेरिकी रक्षामन्त्री एस्टोन कार्टरले पाकिस्तानले आतंकवाद नियन्त्रणमा ध्यान नदिई विद्रोहीलाई प्रश्रय दिएको भन्दै सहयोग रकममा रोक लगाइएको बताएका बीबीसीले जनाएको छ । अमेरिकाले पाकिस्तानलाई सन् २००२ देखि आतंकवाद विरुद्धको कारबाहीका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

सन् २०१५ सम्ममा १ अर्ब अमेरिकी डलर उपलब्ध गराउने बचन दिएअनुसार ७० करोड उपलब्ध गराइसकेको र ३० करोड अमेरीकि डलर दिन बाँकी थियो । कोलिशन सपोर्ट फन्डमार्फत सबैभन्दा धेरै सहयोग पाकिस्तानलाई दिईएको र सन् २००२ देखी अहिलेसम्म मात्रै १४ अर्ब डलर दिईसकेको अमेरीकि रक्षा मन्त्रालयले जनाएको छ । ओबामा प्रशासनले हक्कानी नेटवर्कका कारण पाकिस्तानलाई दिंदै आएको सैन्य सहयोगमा रोक लगाएको यो पहिलो पटक हो ।

यसअघि अमेरिकाले पाकिस्तानले खरिद गर्ने भनिएको एफ–सिक्सटिन विमानमा पनि रोक लगाएको थियो । पाकिस्तानले भने अमेरिकी कदमप्रति कुनै प्रतिक्रिया दिएको छैन ।