Thaha

Friday 26 April - 10:05 am NST

मध्य तथा पश्चिम अफ्रिकामा आत्मघाती आक्रमणमा बालबालिकाको सहभागीता बढ्दो,


काठमाडौं, ०१ वैशाख । मध्य तथा पश्चिमी अफ्रिकाका चार देशमा आत्मघाती आक्रमणमा बालबालिकाको सहभागीता बढेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युनिसेफको प्रतिवेदन अनुसार विद्रोही समूह बोकोहरामका गतिविधीबाट अति प्रभावित नाईजेरिया, क्यामरुन, चाड र नाईजरमा आत्मघाती आक्रमणमा बालबालिकाको सहभागीता बढेको देखिएको छ । सन् २०१४ मा ४ जना बालबालिका आत्मघाती आक्रमणमा सहभागी भएकोमा सन् २०१५ मा यो संख्या बढेर ४४ पुगेको छ ।  जसमध्ये ७५ प्रतिशत भन्दा बढी बालिका रहेको प्रतिवेदनमा उल्लेख छ । विद्रोहीको नियन्त्रणबाट भाग्न सफल भएका वा यौन हिंसामा परेका बालिकाहरुलाई धम्क्याएर आक्रमण गर्न लगाउने गरेको हुन सक्ने अनुमान गरिएको छ । युनिसेफका मध्य तथा पश्चिम अफ्रिकाका क्षेत्रीय निर्देशक म्यानुयल फोन्टेनले नाईजेरिया र छिमेकी देशमा बालबालिकालाई नियन्त्रणमा लिई हिंसात्मक गतिबिधीमा संलग्न गराउने कार्य हिंसाको सबैभन्दा भयानक पक्ष भन्दै ति बालबालिका अपराधी नभई पीडित भएको स्पष्ट पार्नुभएको छ  । यसैबीच राष्ट्रसंघ र अफ्रिकाका मानवअधिकार विज्ञहरुले नाईजेरियाको चिबोकबाट अपहरणमा परेका २ सय बालिकाको अवस्था तत्काल सार्वजनिक गर्न विद्रोही समूह बोकोहराम संग अपिल गरेका छन् । बालिका अपहरणमा परेको २ वर्ष पूरा भएकै दिन उनीहरुले  अपहरणमा परेका सबै सर्वसाधारणलाई मुक्त गराउन हरसम्भव प्रयास गर्न नाईजेरिया सरकारसंग आग्रह पनि गरेका छन् ।