Thaha

Wednesday 24 April - 7:05 pm NST

विश्वभर मृत्युदण्डका घटनामा वृद्धि,


काठमाडौं, २४ चैत । विश्वका विभिन्न देशमा गएको वर्ष मृत्युदण्डका घटनामा वृद्धि भएको अधिकारवादी संस्था एमनेष्टी ईन्टरनेशनलले जनाएको छ । एमनेष्टीको तथ्यांक अनुसार सन् २०१५ मा १ हजार ६ सय ३४ जनालाई मृत्युृदण्ड दिईएको छ, जुन अघिल्लो वर्षको भन्दा ५० प्रतिशतले बढी हो । विश्वभर हुने कुल मृत्युदण्डका घटना मध्ये ८९ प्रतिशत ईरान पाकिस्तान र साउदी अरेबियामा भएका पनि संस्थाले जनाएको छ । सन् १९८५ देखि २०१५ सम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी मृत्युदण्ड दिने देशमा चीन सबैभन्दा अग्रस्थानमा रहेको छ । तर एमनेष्टीले चीनमा मृत्युदण्डको सजायँ सुनाईएका वा सजायँ दिईसकेकाको यकिन संख्या भने सार्वजनिक गरेको छैन । एमनेष्टीले हालैका वर्षहरुमा चीनमा मृत्युदण्डका घटनामा कमी आएको संकेट देखिएको भएपनि यस सम्बन्धि गोपनियताका कारण संख्या यकिन गर्न असम्भव भएको पनि उल्लेख गरेको छ । यस्तै ईरानमा ९ सय ७७ जनालाई मृत्युदण्ड दिईएको छ, जसमा लागूपदार्थ सम्बन्धि अपराधसंग सम्बन्धित धेरै घटना रहेका छन् । एमनेष्टीले मृत्युदण्ड दिईएका मध्ये ४ जना अपराध गरेका बेला १८ वर्ष मूनिका रहेको भन्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको ठहर गरेको छ । एमनेष्टीका महासचिव सलिल शेट्टीले मृत्युदण्डका घटनामा वृद्धि हुनु निकै दुखद भन्दै मानव वध गर्ने काम बन्द गर्न आव्हान गर्नुभएको छ ।