Thaha

Tuesday 23 April - 5:06 pm NST

उतर कोरिया विरुद्ध प्रतिबन्ध लगाउन सुरक्षा परिषद्मा हुने मतदानमा ढिलाई

काठमाडौं, १९ फागुन । उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमाथि राष्ट्रसंघको सुरक्षा परिषदमा हुने भनिएको मतदानमा ढिलाई भएको छ । हिजो नै मतदान हुने तय भएपनि रुसले प्रस्तावमाथि प्रक्रियागत समिक्षाको आव्हान गरेपछि ढिलाई भएको हो । उत्तर कोरियाले गत महिना गरेको आणविक परीक्षणविरुद्ध चीनको समर्थनमा अमेरिकाले नयाँ प्रतिबन्धको प्रस्ताव परिषदमा पेश गरेको थियो । प्रस्ताव माथिको मतदान अब नेपाली समय अनुसार आज राती पौने ९ बजे शुरु हुने समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रसंघका लागि रुसी दूत भिटाली चर्किनले उत्तर कोरियामाथिको प्रतिबन्धबारे केही विशेष मुद्धामा अमेरिकासंग छलफल गरिएको भन्दै आफ्ना सुझाव प्रस्तावमा समेटिने विश्वास व्यक्त गर्नुभयो । विश्व समुदाय र राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण गरिरहेको भन्दै कडा खालको प्रतिबन्ध लगाउने गरी सुरक्षा परिषदमा प्रस्ताव पेश गरिएको हो । चार पल्टको आणविक परिक्षण र पटक पटकका क्षेप्यास्त्र प्रहार गरेपछि सन् २००६ देखि राष्ट्रसंघले उत्तरकोरियामाथि प्रतिबन्ध लगाएको छ ।