Thaha

Wednesday 17 April - 4:59 am NST

फिफाको निर्वाचन आज


काठमाण्डौं, फागुन १४ । विश्व फुटबलको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । स्विट्जरल्याण्डको ज्युरिचमा रहेको फिफा मुख्यालयमा हुने विशेष साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन प्रक्रिया नेपाली समय अनुसार बेलुकी पौने ६ बजे सुरु हुने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

फिफाको अध्यक्षका लागि पाँच जना चुनावी मैदानमा छन् ।

तस्वीर:BBC

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली बिन अल हुसैन, युरोपेली फुटबल संघका महासचिव जियानी ईन्फान्टिनो, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल चुनावी दौडमा छन् । यीमध्ये एएफसी अध्यक्ष शेख सलमान र युएफा महासचिव जियानी ईन्फान्टिनोलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । फिफा अध्यक्षका लागि फिफामा आवद्ध २०७ राष्ट्रले मतदान गर्न पाउने व्यवस्था छ । साधारणसभामा नेपालका तर्फबाट एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले मतदान गर्दै हुनुहुन्छ । अध्यक्षमा चुनिनका लागि उम्मेदवारले कम्तीमा १०४ मत ल्याउनुपर्ने हुन्छ । यसअघि, गत वर्ष पाँचौ कार्यकालका लागि निर्वाचित भएको केही हप्तामै सेप ब्लाटरले भ्रष्टाचारको आरोप लागेपछि फिफा अध्यक्षको पदत्याग गर्ने घोषणा गरेका थिए ।