Thaha

Monday 06 May - 12:18 am NST

साग फुटवलको उपाधी बिजेता टोलीलाई भव्य स्वागत गरिने


काठमाडौं, ५ फागुन । २३ बर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण जिताउने नेपाली फुटबल टोलीको आज भव्य स्वागत गरिने भएको छ । दिउँसो ३ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली उत्रिएपछि विजय जुलुससहित भव्य स्वागत गरिने अखिल नेपाल फुटकबल संघ (एन्फा)ले जनाएको छ । विमानस्थलको गेटबाटै सुरु हुने विजयजुलुस तिलगंगाचोक, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ । पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ । आयोजक भारतलाई २–१ ले हराउँदै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेको थियो ।

१२ सागको भारतको गुवाहटीमा हिजो बेलुकी भव्य समापन गरिएको हो । नेपाल १२ औं सागमा ३ स्वर्ण, २३ रजत र ३४ कास्यसहित ६० पदक हासिल गरेर छैठौं स्थानमा रह्यो ।  १३ औं साग प्रतियोगिता सन् २०१८ मा नेपालमा हुने भएको छ ।