Thaha

Friday 03 May - 10:25 pm NST

नेपालले १९ वर्ष मुनिको अर्को विश्वकप सिधै खेल्ने मौका गुमायो / नामिवियासँग पराजित

काठमाडौं, २८ माघ । नेपालले १९ वर्ष मुनिको अर्को विश्वकप क्रिकेट सिधै खेल्ने मौका गुमाएको छ । अब नेपालले सन् २०१८ मा हुने विश्वकप खेल्न छनौट चरणबाट गुज्रिनु पर्नेछ । 
१९ वर्ष मुनिको विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा बिहीबार नामिबियासँग पराजित भएपछि नेपालले सिधै अर्को विश्वकप खेल्ने अवसर गुमाएको हो । नेपाललाइ १५ रनले हराएको नामिबियाले अब अर्को विश्वकप सिधै खेल्न पाउनेछ ।  बंगलादेशमा २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल चार बल बाँकी छँदै २ सय १० रनमा अल आउट भयो । एक समय जिततिर अघि बढेको नेपाल पछि लडखडायो र पराजित भयो । सातौं नम्बरमा ब्याटिङ गर्दै प्रेम तामाङ फाईटिङ स्पिरिट देखाएर ३२ रन बनाएर चार बल बाँकी छँदै अन्तिम विकेटका रुपमा आउट  भए । ९२ रनसम्म एक विकेट मात्रै विकेट गुमाएको नेपालले १ सय १३ रनमा पुग्दा थप तीन विकेट गुमायो । तर आरिफ शेख र दीपेन्द्र सिंह ऐरिले फेरि संघर्ष गर्दै पाँचौ विकेटका लागि ५३ रनको साझेदारी गरे । तर आरिफ शेख ३० र दीपेन्द्र सिंह ऐरी ३१ आउट भएपछि नेपाल कमजोर बन्दै गयो । प्रेम तामाङले संघर्ष गरेपनि पर्याप्त भएन । त्यस्तै सुनील धमलाले ५९ र योगेन्द्रसिंह कार्की ३५ रन बनाएर आउट भए । 
कुहिरोका कारण ४५ ओभरमा छोट्टाइएको खेलमा टस जितेर व्याटिङ्ग गरेको नामिबियाले ९ विकेटको क्षतिमा २ सय २५ रन जोडेको थियो ।  नेपालका लागि सन्दीप लामिछानेले ३, सुशील कँडेलले २, सुनील धमला र प्रेम तामाङ्गले एक एक विकेट लिए ।