Thaha

Friday 03 May - 9:28 pm NST

नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलबाटै बाहिरियो

 
काठमाण्डौ, २२ माघ ।

नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलबाटै बाहिरिएको छ। क्वाटरफाईनलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपालको सेमिफाईनल खेल्ने सपना पुरा हुन सकेन।

नेपालले दिएको २ सय १२ रनको लक्ष्य बंगलादेशले १० बल बाँकी छँदै पुरा गरेर पहिलो पटक विश्वकपको सेमिफाईनल पुग्यो। २९ औ ओभरसम्म खेललाई नियन्त्रणमा राखेको नेपालले त्यसपछि लय गुमाउँदै गयो र अन्तिम दश ओभरमा सम्हालिन सकेन र पराजित भयो। २८ ओभर एक बलसम्म ९८ रन बनाएर चार विकेट गुमाएको बंगलादेशले पाँचौ विकेटका लागि १ सय १७ रनको साझेदारी ग¥यो। नेपालले आफूभन्दा बलियो टोलीलाई कडा टक्कर दिएपनि जित हासिल गर्न सकेन। र, ईतिहास बनाउने मौकाबाट चुक्यो। नेपालका लागि सुनील धमलाले दुई र सन्दीप लामिछानेले एक विकेट लिए । 


कप्तान रिजालको अधर्शतकीय ईनिङ 

मीरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २ सय ११ रन बनायो । नेपालका लागि कप्तान राजु रिजालले  सबैभन्दा धेरै ७२ रनको योगदान गरे । ८० बलको सामना गरेका रिजालले एक छक्का र आठ चौका प्रहार गरे । प्रेम तामाङ २२ रनमा नटआउट रहँदा सुनील धमलाले २५ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।  त्यस्तै आरिफ शेखले २१ र कुशल भूर्तेलले १४ रनको योगदान गरे । नेपालले तीन विकेट रन आउटका रुपमा गुमायो ।

कप्तान राजु रिजाल क्रिजमा छँदा २ सय २५ भन्दा माथिको योगफल बनाउने देखिएको नेपालको रन रेट रिजाल पेवेलियन फर्के लगत्तै कमजोर बन्यो । दीपेन्द्र र सुनीलले धेरै बल खर्चे ।