Thaha

Saturday 04 May - 1:31 am NST

१९ वर्ष मुनिको विश्वकप क्रिकेटमा भारतलाई नेपालको १ सय ७० रनको लक्ष्य


काठमण्डौं, १८ माघ । 
१९ वर्ष मुनिको विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको छ । नेपालका सन्दिप सुनारले सर्वाधिक ३७ रन बनाए । ७३ बलको सामना गरेका सन्दिपले चार चौका प्रहार गरे । ६८ बल खेलेका राजबिर सिंहले एक चौकाको मद्दतमा ३५ रन जोडे ।

खेलको एक मात्रै छक्का र २ चौका हिर्काएका प्रेम तामाङ २९ रनमा नटआउट रहे । आरिफ सेखले ४४ बलमा ४ चौकाको मद्धतमा २६ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । योगेन्द्र सिंह कार्की ७, कप्तान राजु रिजाल र कुशल भुर्तेल समान ६, सुशील कँडेलले नटआउट ३ रन जोडे भने सुनिल धमला खाता नै नखोली पेभिलियन फर्किए । भारतका आवेश खानले ३, मायान्क डगर र वासिङटन सुन्दरले समान २/२ विकेट लिएका थिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्दैछ । कुहिरोका कारण निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएपछि खेल ४८ ओभरमा झारिएको हो । आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । नेपाल र भारत दुवै न्यूजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै क्वार्टरफाईनल पुगेका हुन् ।