Thaha

Saturday 04 May - 4:33 am NST

१९ वर्ष मुनिको विश्वकपमा नेपालको विजयी शुरुवात, न्यूजिल्याण्ड ३२ रनले पराजित

काठमाण्डौ, १४ माघ । नेपालले १९ वर्षमुनिको विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेको छ । बंगलादेशमा विहीवार भएको खेलमा नेपालले टेस्ट खेल्ने टिम न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्यो। अपेक्षा अनुसारको ब्याटिङ र स्पिनरहरुले प्रभावकारी बलिङ गरेपछि नेपालको जित संभव भयो । नेपाली स्पिन अट्याक सामू न्यूजिल्याण्ड पुरै ५० ओभर पनि टिक्न सकेन र २ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा  ४७ ओभर एक बलमा अलआउट भयो । एक समय गुम्दै गईरकेको देखिएको खेलमा नेपाललाई फर्काउँदै स्पिनर दीपेन्द्र सिंह ऐरीले तीन र प्रेम तामाङले दुई विकेट लिए  ।

सुनील धमला र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो । दीपेन्द्रले ४१ रन बनाएर खेलिरहेका डेल फिलिप्सलाई रन आउट समेत गरे ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ३८ रनको स्कोर खडा गरेको हो । नेपालका लागि सबैभन्दा धेरै म्यान अफ द म्याच कप्तान राजु रिजालले ४८ रन बनाए । यस्तैगरी सन्दीप सुनार र आरीफ सेखले समान ३९ रन जोडे । कुशल भुर्तेल ३५ रन बनाएर नटआउट रहंदा राजवीर सिंह २४, दिपेन्द्रसिंह ऐरी १६, सुनील धमला १५ र योगेन्द्रसिंह कार्की ६ रनमै पेभेलियन फर्किए ।