इंग्ल्यान्डद्धारा फिजीसामू ३ सय ७२ रनको लक्ष्य प्रस्तुत
काठमाण्डौं, माघ १३ । ड्यान लरेन्स र ज्याक बर्नह्यामको उत्कृष्ट शतकीय पारीको मद्दतम इङल्याण्डले १९ बर्ष मुनीको विश्वकप क्रिकेटमा फिजीसामू ३ सय ७२ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।
बंगालदेशमा आजदेखि सुरु भएको प्रतियोगितामा लरेन्सले १ सय ७४ र वर्नह्यामले १ सय ४८ रनको योगदान गरे । टस जितेर पहिला ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३ सय ७१ रन बनाएको हो ।
त्यस्तै अर्काे खेलमा दक्षिण अफ्रिकाविरुद्ध बंगलादेशले २ सय ४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको हो ।
प्रतियोगितामा नेपालले भने भोली पहिलो खेल न्यूजिल्याण्डविरुद्ध खेल्नेछ । समूह डी मा रहेको नेपालले आयरल्याण्डसंग जनवरी ३० मा र भारतसंग फेबु्रअरि १ मा खेल्नेछ । चारवटा समूहका शीर्ष दुई टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सातौं पटक सहभागिता जनाइरहेको नेपालले यसअघिका संस्करणहरुमा दक्षिण अफ्रिका, वेष्टइण्डिज, न्यूजिल्याण्ड, पाकिस्तानजस्ता बलिया टिमलाई हराएको इतिहास छ ।
नेपाल एक पटक प्लेट च्याम्पियन पनि बनेको थियो । दक्षिण अफ्रिका प्रतियोगिताको साविक बिजेता टिम हो भने अष्ट्रेलिया र भारतले सर्वाधिक तीन÷तीन र पाकिस्तानले दुई पटक यो प्रतियोगिताको उपाधि जितिसकेका छन् । प्रतियोगिताको फाइनल खेल आगामी फेब्रुअरी १४ मा शेरे बंगला रंगशाला ढाकामा हुनेछ ।