Thaha

Saturday 21 September - 8:51 am NST

विश्वकप क्रिकेट खेल्न नेपाली टोली बंगलादेश प्रस्थान


काठमाडौं, ६ माघ । बंगलादेशमा हुने १९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोली आज त्यस बंगलादेश तर्फ  लागेको छ । जनवरी २७ देखि फेबु्रअरि १४ सम्म हुने प्रतियोगितामा सहभागि हुन नेपाली टोली बिहान नौ बजे नयाँ दिल्ली हुँदै बंगलादेश गएको हो । प्रतियोगिता पूर्व नेपालले दुई अभ्यास म्याच खेल्नेछ । १६ टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह डीमा छ । समूह चरणमा नेपालले भारत, न्यूजिल्याण्ड र आयरल्याण्डसंग खेल्नेछ । समूहको शिर्ष दुईमा पर्न सकेमा नेपाल अघिल्लो चरण प्रवेश गर्नेछ । भारत र न्यूजिल्याण्ड निकै बलिया टिम हुन भने छनोट खेलमा आयरल्याण्डलाई नेपालले हराएको थियो । यो समूहमा सुरक्षाको कारण देखाउँदै अष्ट्रेलिया नआउने भएपछि आइसीसीले आयरल्याण्डलाई छानेको हो ।

नेपालले पहिलो खेल २८ जनवरीमा न्यूजिल्याण्डसंग खेल्नेछ भने आयरल्याण्डसंग जनवरी ३० मा र भारतसंग फेबु्रअरि १ मा खेल्नेछ । १९ वर्षमुनीको विश्वकप क्रिकेटको इतिहास हेर्ने हो भने नेपाल यस पटक सातौं पटक सहभागि हुँदैछ । यसअघि नेपालले दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, बंगलादेश, पाकिस्तान, जिम्वावे जस्ता बलिया टोलीलाई पनि हराएको थियो ।