Thaha

Monday 25 November - 11:08 pm NST

१९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोलीको आज विदाई


काठमण्डौं, ५ माघ ।
बंगलादेशमा हुने १९ वर्षमुनीको विश्वकप क्रिकेटमा सहभागि हुने नेपाली टोलीको आज विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले गरेको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मविश्वासका साथ खेल्न सकेमा कुनै पनि खेल जित्न सकिने बताउनु भयो । उहाँले दक्षता भएरमात्र नहुने भन्दै आत्मविश्वासका साथ खेलेमा कुनैपनि खेल जित्न सकिने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले स्वास्थय, मित्रतामा ख्याल गरेर खेल्न भन्दै खेलाडीहरुलाई नेपाल सम्झन पनि आग्रह गर्नुभयो । बिदाइ कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायाण मण्डल र क्यानका पदाधिकारी सहभागि थिए । जनवरी २७ देखि फेबु्रअरि १४ सम्म हुने प्रतियोगितामा सहभागि हुन नेपाली टोली भोली बिहान नयाँदिल्ली हुँदै बंगलादेश जानेछ । प्रतियोगितामा १६ टोली सहभागि हुनेछन् । राउण्ड रोविन र नकआउट चरणमा खेल हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ । १६ टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह डीमा परेको छ ।

यस समूहमा नेपालले भारत, न्यूजिल्याण्ड र आयरल्याण्डसंग खेल्नेछ । यस समूहको शिर्ष दुईमा पर्न सकेमा नेपाल अघिल्लो चरण प्रवेश गर्नेछ । भारत र न्यूजिल्याण्ड निकै बलिया टिम हुन भने छनोट खेलमा आयरल्याण्डलाई नेपालले हराएको थियो । यो समूहमा सुरक्षाको कारण देखाउँदै अष्ट्रेलिया नआउने भएपछि आईसीसीले आयरल्याण्डलाई छानेको हो । नेपालले पहिलो खेल २८ जनवरीमा न्यूजिल्याण्डसंग खेल्नेछ भने आयरल्याण्डसंग जनवरी ३० मा र भारतसंग फेबु्रअरि १ मा खेल्नेछ ।