विश्व टेनिसमा म्याच फिक्सिङ्ग
काठमाण्डौं, माघ ४ । विश्व टेनिसको शीर्ष प्रतियोगितामा ‘म्याच फिक्सिङ’ भएको खुलासा भएको छ । फुटबल, क्रिकेट, लगायतका खेलमा बेला बेला म्याच फिक्सिङको प्रसङ्ग उठ्ने गरे पनि बीबीसीले गरेको अनुसन्धानका क्रममा यस्तो रहस्य भेटिएको हो ।
बजफिड न्यूज र बीबीसीले संयुक्त रुपमा गरेको अनुसन्धानमा विगत १० वर्षमा कम्तीमा १६ शीर्ष खेलाडीविरुद्ध म्याच फिक्सिङको आरोप लगाइएको थियो । त्यस्ता आरोप विम्वल्डनका केही म्याचसँग समेत सम्बन्धित थिए । तर उजुरी दायर गर्दासमेत ती खेलाडीमाथि कुनै कारवाही नभएको बीबीसीले उल्लेख गरेको छ । आरोप लागेका केही खेलाडी ‘ग्राण्ड स्लाम विजेता’ समेत रहेका छन् ।
एशोसियसन अफ टेनिस प्रोफेसनल एटीपीको छानविन समितिले एउटा म्याचको छानविन गर्दा अन्य विभिन्न म्याच फिक्सिङ भएको तथ्य उजागर भएको हो । छानविन टोलीले फिक्सिङको आशंका गरेका खेलमा सामेल २८ खेलाडीविरुद्ध विस्तारपूर्वक छानविन गर्न सिफारिस गरे पनि उक्त सुझाव आजसम्म कार्यान्वयन हुन नसकेको बीबीसीले जनाएको छ ।