Thaha

Saturday 04 May - 12:29 am NST

उत्तर कोरीयाद्धारा हाईड्रोजन बमको सफलतापूर्वक परीक्षण

काठमाण्डौं, पुस २२ । उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरेको छ । स्थानीय समयअनुसार विहान १० बजे हाइड्रोजन बमको परीक्षण गरिएको कोरियाली सरकारी टेलिभिजनले जनाएको छ ।

उत्तर कोरियाको एक परमाणुस्थल नजिकै गरिएको परिक्षण पछि कम्पन महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले ५ दशमलब १ रेक्टर स्केलको कम्पन मापन गरेको थियो भने दक्षिण कोरियाली मौसम विभागले भने कम्पनको तीब्रता ४ दशमलब २ भनेको छ । कम्पन प्राकृतिक हो या अन्य कारणबाट भएको हो भन्नेबारे विभिन्न आशंका गरिएकै समयमा उत्तर कोरियाली सरकारी टेलिभिजनले हाइड्रोजन बमको परीक्षण गरिएको जनाएको हो । यसबारे अमेरिकाले परिक्षणकै क्रममा रहेको बताएको छ भने जापान र दक्षिण कोरियाले भने कम्पन हाईड्रोजन बम परिक्षणकै कारण भएको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियाले यसअघि तीन पटक त्यो क्षेत्रमा परमाणु परीक्षण गरिसकेको छ । उत्तर कोरियाको यो कदमले असुरक्षा बढेको जापानको प्रतिक्रिया छ । दक्षिण कोरियाले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएको छ भने राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि आकम्मिक बैठक बोलाउने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।