Thaha

Saturday 21 September - 2:29 pm NST

बंगबन्धु गोल्डकप फुटबलका लागि नेपाली टोलीको घोषणा


काठमाण्डौं, पुस २० । बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज घोषणा गरेको टोलीमा एलन न्यौपाने, अमृत चौधरी र बिकेश कुथुलाई गोलकीपर तोकिएको छ । डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, कमल श्रेष्ठ, रविन श्रेष्ठ, देवेन्द्र तामाङ, मानबहादुर तामाङ रहनेछन् भने मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, जंगबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ रहेका छन् ।

यस्तैगरी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा फर्वाडमा रहनेछन् । बालगोपाल महर्जनको प्रशिक्षणमा रहने नेपाली टोलीसँगै उपेन्द्रमान सिंह, एन्फाका कोषाध्यक्ष बिराटजंग शाही पनि बंगलादेश जाने एन्फाले जनाएको छ । बंगबन्धु गोल्डकप प्रतियोगिता यही पुस २४ गते शुक्रवारदेखी सुुरु हुदैछ । नेपाल रहेको समूह ए मा मलेसिया, श्रीलंका र आयोजक बंगलादेश रहेका छन् । नेपालले पहिलो खेल २५ गते शनिवार मलेसियासँग खेल्नेछ । यस्तैगरी २८ गते श्रीलंका र ३० गते बंगलादेशसँग नेपालको भिडन्त तय भएको छ ।

यसैवीच बंग्बन्धु जाने नेपाली टोलीको घोषणा भएलगत्तै मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले असन्तुष्टि पोखेका छन् । विज्ञप्तिमार्फत ओसेम्सले आफूले दिएको सूची विपरित बङबन्धु कपका लागि नेपाली टोलीको घोषणा भएको देख्दा आश्चर्यमा परेको प्रतिक्रिया दिनुभएको छ । एन्फालाई आफूले साफ र बंग्बन्धुमा खेल्न २३ खेलाडीको सूची दिएकोमा एन्फाले त्यो भन्दा फरक नाम घोषणा गरेको भन्दै यो टीम आफूलाई स्विकार्य नभएको बताउनुभएको  छ ।

आफू भोली नै काठमाण्डौंमा आउने तयारीमा रहेकोमा अहिलेको परिस्थितीले आफू आउनुको अर्थ नभएको ओसेम्सले विज्ञप्तिमा भन्नुभएको छ । केही दिनअघिमात्र ट्विटरमार्फत ओसेम्सले एन्फामा व्यवसायिकता नभएको भन्दै सम्झौता नविकरण नगर्ने घोषणा गर्नुभएको थियो ।