Thaha

Saturday 21 September - 2:19 pm NST

सागका लागि कुस्तीतर्फ पुरुष र ब्याडमिन्टन तर्फका खेलाडी छनोट

काठमाण्डौं, पुस १४ । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि कुस्तीतर्फका पुरुष खेलाडी छनोट भएका छन् । राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताको दोश्रो दिन आज आ–आफ्नो प्रतिस्पर्धामा शीर्ष स्थान हासिल गर्ने ७ जना पुरुष खेलाडी छनोट भएका हुन् ।

पुरुषको ५७ केजीमा पर्साका जयमंगल यादव पहिलो भए । यस्तैगरी ६१ केजीमा बाराका रामबाबु यादव, ६५ केजीमा पर्साका सरोज यादव, ७० केजीमा आर्मीका वैजनाथ यादव छानिए । त्यस्तै ७४ केजीमा आर्मीका भेखराज पण्डित, ८६ केजीमा १० औं सागका रजतधारी बुनीलाल राउत अहिर र ९७ केजीमा पर्साका सुमिर साह छनोट भएका छन् । १ सय २५ केजीमा नेपाल आर्मीका सत्येन्द्रप्रसाद यादव प्रतिद्वन्द्वी नपाएपछि स्वतः छनोट भएका थिए । महिलातर्फ पनि ८ खेलाडी छनोट भइसकेका छन् ।

यस्तैगरी १२ औं सागका लागि ब्याडमिन्टन खेलाडीको पनि अन्तिम टुंगो लागेको छ । पुरुषमा नेपाल आर्मी क्लबका दीपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कट्वाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमशः शीर्ष ७ स्थानमा रहँदै छनोट भए ।

महिलातर्फ सरादेवी तामाङ, नङ्शल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अन्जु राई छानिएका छन् । अन्तिम छनोटमा १० पुरुष र ८ जना महिला खेलाडीले राउन्ड लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । सागमा नवौं संस्करणदेखि समावेश भएको ब्याडमिन्टनले ७ कांस्य जितेको छ ।