Thaha

Sunday 12 May - 2:43 pm NST

बोको हरामका आतंकले १० लाख बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

काठमाण्डौं, पुस ७ । नाइजेरियमा बोको हरामको आतंकका कारण १० लाखभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष, युनिशेफले आज तथ्याङक सार्वजनीक गर्दै आफ्नो अनुसन्धानका क्रममा दश लाखभन्दा बढी बालबालिका बोको हरामका कारण शिक्षाबाट वञ्चित भएको देखिएको जनाएको हो ।

बोको हरामको आतङ्कले त्यहाँका बालबालिकामा त्रास छाएको तथा संरचनागत रुपमा पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेको यूनिसेफको दाबी छ । नाइजेरियासँगै क्यामरुन, चाड र नाइजरमा पनि बालबालिकाको शिक्षा प्रभावित भएको र ती देशमा कम्तीमा दुई हजार वटा विद्यालय बलजफ्ती बन्द गराइएको युनिसेफको तथ्याङकमा उल्लेख छ । बोकोहरामले कतिपय विद्यालयहरु ध्वस्त नै बनाईदिएका छन् ।  

युनिसेफका लागि मध्य तथा पश्चिम अफ्रिकाका निर्देशक म्यानुअल फन्टेनले जतिधेरै र लामो समयसम्म ती बालबालिका विद्यालयबाट वञ्चित भइरहन्छन् त्यति नै उनीहरुलाई दुव्र्यवहार बढ्ने भएकोले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयबाट बाहिर राख्दा बोको हरामले नै उनीहरुलाई सेनामा भर्ती गर्नसक्ने खतरा रहने फन्टेनको भनाई छ । सन् २०१४ को अप्रिल महिनामा बोकोहरामले नाइजेरियाको उत्तरपश्चिमी नगरको एक विद्यालयमा आक्रमण गरी २ सय ७६ जना बालबालिकालाई अपहरण गरी लगेका थिए ।

पश्चिमा देशको शिक्षा लागू गरेको भन्दै बोको हरामले नाईजेरीयाका विद्यालयहरुलाई निशाना बनाउने गरेका छन् ।