Thaha

Saturday 21 September - 4:30 pm NST

म्यानचेष्टर सिटीको स्वाभाविक लय, चेल्सीको खराब प्रदर्शन जारी

काठमाडौं, १५ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । लिग लिडर म्यानचेस्टर सिटीले नरविच सिटीलाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेल,  ६७ औं मिनेटमा म्यानचेष्टर सिटीका निकोलस ओटमेन्डीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । ८३ औं मिनेटमा नरविचका जेरोमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

तर ८९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै याया टुरेले गोल गरेपछि म्यानचेस्टर सिटी २–१ ले विजयी भयो । जितपछि लिग लिडर म्यानचेस्टर सिटीको ११ खेलबाट २५ अंक भएको छ । समान ११  खेलबाट ९ अंक मात्रै जोडेको नरविच १६ औं स्थानमा छ । उता तीन दशककै खराब प्रदर्शन गर्नेक्रममा चेल्सी गएराती भएको खेलमा लिभरपुलसँग ३–१ गोलले पराजित भयो ।  घरेलु मैदानमा चेल्सीले सुरुवाती अग्रता लिएपनि, अग्रतालाई जोगाएर खेल्न नसक्दा लिगमा छैठौ हार व्यहोर्न बाध्य भयो ।

११ खेल खेलको चेल्सी लिगमा ११ अङकका साथ पन्ध्रौ स्थानमा छ । गएराति भएका अन्य खेलमा म्यानचेष्टर युनाईटेड र  क्रिस्टल प्यालेस तथा स्टोक सिटी र न्युक्यासल युनाईटेड गोलरहित बराबरीमा रोक्किदा, आर्सनलले स्वान्सी सिटीलाई ३–०, लिसेष्टर सिटीले वेष्ट ब्रोमलाई ३–२ तथा वार्टफोर्डले वेष्ट ह्यामलाई २–० गोलले पन्छ्यायो ।