Thaha

Saturday 21 September - 4:20 pm NST

१९ वषमुनिको नेपाली क्रिकेटको अर्को फड्को, आयरल्याण्डलाई ३ विकेटले हराउँदै विश्वकपमा छनौट

काठमाडौं, ५ कार्तिक । नेपाल अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको छ । आज भएको फाईनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा पहिले व्याटिङ आयरल्याण्डलाई  १ सय ८४ रनमा सीमित गरेको नेपालले ४६ ओभर २ बलमा लक्ष्य पुरा गर्यो ।  १ सय ८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपालको शुरुवात खराब रह्यो । ओपनर सन्दीप सुनार पहिलो बलमै पेभेलियन फर्किए । ३५ रनमा नेपालले दोस्रो विकेट गुमायो । तर अर्का सुरुवाती व्याट्स्म्यान सुनिल धमलाले सर्वाधिक  ४७ रन बनाएर नेपाललाई सम्हाले ।

त्यस्तै नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रन जोडे ।  त्यसैगरी दिपेन्द्रसिंह ऐरीले २६ तथा आरिफ शेखले २१ रनको महत्वपुर्ण योगदान गरे । त्यस्तै आठौ नम्बरमा क्रिजमा आएका सौरभ खनालले १३ बलको सामना गर्दै १६ रनको महत्वपुर्ण पाली खेले । उनले ४७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।

पहिलो ब्याटिङ गरेको आयरल्याण्डले खराब शुरुवात गरेपनि मध्यक्रमले सम्हाल्यो । १३ रनमा पहिलो र ३१ रनमा दोस्रो विकेट गुमाएको आयरल्याण्डले  तेस्रो विकेटका लागि ७६ रनको महत्वपुर्ण साझेदारी गर्यो ।  नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए ।