Thaha

Saturday 21 September - 4:39 pm NST

विश्वकप छनौटमा नेपालको दोस्रो जित, युगाण्डा १ सय ७१ रनले पराजित, कप्तान राजु रिजालको शतक

काठमाडौं, २९ असोज । मलेशियामा जारी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले युगाण्डमाथी १ सय ७१  रनको  विशाल अन्तरको शानदार जित हात पारेको हो । नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको युगाण्ड, ३६ दशमलव २ ओभरमा ७१ रनमा सिमित भयो  ।

युगान्डको व्याटिङ लाईन धराशायी पार्ने क्रममा नेपालका दिपेश श्रेष्ठले ३ विकेट लिए भने आरिफ शेख, दिपेन्द्र्र ऐरि र प्रेम तामाङले समान दुई दुई विकेट लिए । त्यस्तै ५ ओभर वलिङ गरेका शुशिल कडेंलले ४ मेडन राख्दै १ रन खर्चेर १ विकेट लिए । यसअघि टस जितेर व्याटिङ्ग गरेको  नेपालले कप्तान राजु रिजालको शतकीय र आरिफ शेखको अर्धशतकिय पारीको मद्दतमा २ सय ४२ रन बनायो ।

राजुले १ सय १५ बलको सामना गरेर, १ छक्का र सात चौकाको मद्दतमा १ सय १ रन बनाए भने, ५९ बलको सामना गरेका आरिफ शेखले ४ चौकाको मद्दतमा ५४ रनको योगदान दिए । १३ रन जोड्दा नेपालले २ विकेट गुमाएको थियो । तेस्रो विकेट लागि कप्तान राजु रिजालसँग योगेन्द्र सिहं कार्कीले ८४ र चौथो विकेटका लागि राजुले  आरिफ शेखसँग ९० रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

योगेन्द्र सिहँ कार्कीले ३०, राजविर सिहँले १३, सौरभ खनाल र दीपेन्द्र सिंह ऐरीले  समान आठ आठ , सुनील धमला ७,  प्रेम तामाङले ५ र सन्दीप सुनारले २ रन बनाए  । जितसँगै नेपालले ४ अङक जोड्दै समुहको शीर्ष स्थानमा रहेको छ ।

नेपालले हिजो पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले हराएको थियो । प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम आगामी जनवरीमा बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट हुनेछ ।