Thaha

Sunday 28 April - 12:20 pm NST

सिरियाका विद्रोही माथिको आक्रमणका विषयलाई लिएर रुस र अमेरिकाबीच फेरि विवाद

काठमाडौ, १७ असोज । सिरियाका विद्रोही माथिको आक्रमणका विषयलाई लिएर रुस र अमेरिकाबीच फेरि विवाद भएको छ । रुसी हवाई आक्रमण प्रति अमेरिकाले आपत्ति जनाएपछि विवाद शुरु भएको हो । अमेरिकाले आफ्नो गुप्तचर संस्था सीआईएले नै तयार पारेका विद्रोहीमाथि नै रुसले आक्रमण गरेको अमेरिकाको आरोप छ ।

अमेरिकी र संयुक्त सेनासँग टर्कीमा तालिमप्राप्त ७५ जना सिरियाली विद्रोहीलाई उत्तरी सिरियामा हालैमात्र पठाइएकोमा रुसी सेनाले हवाई आक्रमणका क्रममा तिनैलाई निशाना बनाएको अमेरिकाको दावी छ । अमेरिकी सिनेटर जोन म्याकाइनले रुसको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको  बताएका एएफपीले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्देल रहमानले रुसी हवाई आक्रमणमा महिला र बालबालिका पनि मारिएका बताएका समाचारमा उल्लेख छ । रुसले भने त्यसको खण्डन गर्दै आएको छ । आईएस विद्रोहीलाई निशाना बनाएको र सिरिया सरकारको आग्रहमा नै आक्रमण गरिएको रुसले बताएको छ ।