Thaha

Monday 29 April - 10:17 pm NST

बोक्सीको आरोपमा पाँच महिलाको हत्या

काठमाडौं, २३ साउन । भारतमा बोक्सीको आरोपमा एकै गाउँका पाँच महिलाको हत्या भएको छ । झारखण्डको राँचीबाट ३७ किलोमिटर टाढा कजिया गाउँमा गएराति धारिलो हतियारबाट उनीहरुको हत्या भएको हो ।

ति महिला बोक्सी भएका कारण गाउँमा अशान्ति मच्चिएको भन्दै एउटा समूहले बैठक बसेरै उनीहरुको हत्या गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ ।  हत्यामा संलग्न भएको आरोपमा प्रहरीले झण्डै दुई दर्जनलाई नियन्त्रणमा लिएको छ । उनीहरुले हत्यापछि घटनास्थल पुगेको प्रहरीको चर्काे बिरोध गर्दै शव उठाउन दिएका थिएनन् ।  

प्रहरीले निकैबेर सम्झाएपछि मात्रै शव पोष्टमार्टमका लागि लैजान पाएको थियो । घटनाले गाउँ तनावग्रस्त बनेपछि प्रहरीले अहिले पुरै गाउँलाई नियन्त्रणमा लिएको भारतीय संचारमाध्यामले जनाएका छन् । हत्या गरिएका सबै महिला छुट्टाछुट्टै परिवारका हुन् ।

उनीहरु सबैको शव नग्न अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार झारखण्ड राज्य बनेदेखि अहिलेसम्म बोक्सीको आरोपमा मात्रै झण्डै १२ सय महिलाको हत्या भइसकेको छ । (तस्विर : वीवीसी )