Thaha

Thursday 25 April - 3:24 pm NST

खेलाडीलाई दिने सुविधा निर्धारण गर्दै सरकार


काठमाडौं, असार १९। सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा पदक जित्ने खेलाडीलाई दिने सुविधा निर्धारण गर्ने तयारी गरेको छ । कस्ता खेलाडीलाई कस्तो किसिमको सम्मान तथा सुविधा दिने भन्ने विषयमा युबा तथा खेलकुद मन्त्रालयले छुट्टै कार्यविधि बनाएर लागु गर्ने तयारी गरेको हो ।

खेलाडी पुरस्कार तथा प्रोत्साहन कार्यबिधिको अन्तिम मस्यौदा मन्त्रिपरिषदमा पेश भईसकेको मन्त्रालयका प्रवक्ता चुडामणि पौडेलले रेडियो थाहासञ्चारलाई जानकारी दिनुभयो । मन्त्रिरिषदको बिधायन समितिमा छलफलमा रहेको मस्यौदामा राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड,  राष्ट्रिय खेलकुद प्रतियोगिता र ओलम्पिक तथा एसियाड सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नेहरुलाई दिईने पुरस्कार बापतको रकम र सुविध किटान गरिएको छ ।

यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किर्तिममान भंग गर्ने खेलाडिलाई पनि राज्यले गर्ने सम्मान तय गरिएको छ । अहिले खेलाडीलाई पुरस्कार तथा सुविधा दिन खेलकुद मन्त्रालयले प्रस्ताव गर्नुपर्ने व्यवस्थालाई कार्यबिधिले परिवर्तन गर्नेछ । अब ओलम्पीकमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले १ करोड रुपैयाँ दिने प्रवक्ता पौडेलले बताउनुभयो ।

यस्तैगरी विभिन्न पदक विजेता र किर्तिमाानी खेलाडीलाई पनि दिईने पुरस्कार र सुविधा कार्यबिधिमै तोकिएको छ । पहुँचका आधारमा मात्र पुरस्कार दिने गरिएको भन्दै सरकारको धेरै आलोचना भएका कारण अब पहिले नै पुरस्कार तथा सुविधा तोक्न लागिएको पौडेलले बताउनुभयो ।