Thaha

Friday 26 April - 9:42 am NST

१० जना नागरीकलाई भारत छाड्न उडिसा सरकारको नोटिस


काठमाण्डौं, जेठ ३२ । भारतको उडिसा सरकारले १० जना चिनीयाँ नागरिकलाई भारत छाड्न आदेश दिएको छ । अडानी समूहको धामरा पोर्ट कम्पनीमा कार्यरत उनीहरुलाई जुन १७ अर्थात आगामी शुक्रवारसम्म भारत छाड्न भनिएको बिबिसीले जनाएको छ ।

ओडीसा प्रहरीका अनुसार ती १० मध्ये २ जना भने वेपत्ता छन् । उडिसाका गृहसचिव असित त्रिपाठीले केन्द्र सरकारको निर्देशनमा उनीहरुलाई भारत छाड्न नोटिस जारी गरिएको बताउनुभयो । चीनिया नागरिकहरु अडानी समूहको धामरा पोर्ट कम्पनीको विस्तारीकरण परियोजनामा काम गर्न भारत गएका थिए ।

कामदार भिसामा जानुपर्नेमा व्यवसायीक भिसामा गएकाले फिर्ता हुन भनिएको हो । धामरा पोर्ट कम्पनी थाईल्यान्डको हो, जसले भारतमा अडानी समूहका लागि काम गरिरहेको छ । चिनियाँ नागरिक कार्यरत ठाउँ ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ । यो टापुबाट भारतले मिसाईल प्रक्षेपण गर्ने गरेको छ ।