Thaha

Friday 26 April - 10:48 am NST

विजय युथ हेटौंडा आर्मीलाई हराउदै फाईनलमा


काठमाण्डौं, फागुन २६ । साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै विजय युथ क्लब हेटौडा सातौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आर्मीबिरुद्ध सडन डेथमा नतिजा निकाल्दै हेटौडाले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा पनि नजिता आउन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि  विजय युथ हेटौंडाले सडन डेथबाट भाग्य चम्काउने मौका पायो । सडन डेथमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टमा ठोक्किदा हेडौडाका सुनिल बिकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । यसअघि टाईब्रेकरमा आर्मीका जितेन्द्र कार्की, भरत खवास, रजिन धिमाल, दिपक गुरुङ र गोलरक्षक बिकेश कुथुले गोल गरेका थिए ।

 

हेटौडाका लागि सुनिल बल, सन्जय राज बाहक, भुपाल गुरुङ, रवि भण्डारी र बिश्व अधिकारीले गोल गरेका थिए । खेलको सुरुवातमै अग्रता लिएपनि आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा हार बेहोर्न बाध्य भयो । टिमको पराजयपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेलको सुरुवातमै अग्रता लिएपनि सम्हालिएर खेल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो ।  । खेलमा अग्रता बढाउने थुप्रै अवसर चुकाउन पुग्नुपनि टिमका लागि दुभाग्यपूर्ण भएको केसीको भनाई थियो । हेटौडाका प्रशिक्षक सुविन घिमिरेले टिमको प्रदर्शन तारिफयोग्य रहेको बताए । आर्मीजस्तो सशक्त टिमबिरुद्ध आफ्ना खेलाडीले देखाएको प्रदर्शनलाई आफूले निकै सम्मान गर्ने घिमिरेको भनाई थियो ।

प्रतियोगिता अन्र्तगत भोली हुने दोस्रो सेमिफाईनल खेल वीरगन्ज युनाईटेड क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।