कविको सम्बोधन
कविको सम्बोधन
- शुभलक्ष्मी प्रभा
चुच्चो नाक,
ठूला– ठूला आँखा..
सर्लक्क परेका
बाक्लो सिल्की कपाल
र, पातलो ओठमा
मिलेको दाँतका रहरलाग्दो मुस्कान
मेरो शरीरमा खड्कीएको अभाव हो ।
यिनै पंक्तिहरु
तिमीले आफ्नी प्रेमिकालाई गर्ने
सम्बोधन पनि हो ।
र, जहाँ म;
आफूलाई कहिल्यै पाउँदिन !
कवि ज्यू,
मेरो यो कर्ली कपाल;
चिम्सा आँखा,
थेप्चो नाक,
र, भद्दा ओठले...
मलाई तिम्रो हुनबाट रोक्यो,
माफ गर,
तिम्रो सम्बोधनले कहिल्यै...
छुन सकेन मलाई;
त्यसैले कवि...
तिमीलाई मैले,
कहिल्यै आफ्नो महसुस गर्न सकिनँ;
र अक्सर...
मेरा लागि आतंक बन्यो,
कविको सम्बोधन !
- हेटौँडा