आशा अझै मरिसकेको छैन
- राम अविकास
सोध्नेहरूले सोध्लान् सरिता तिवारीलाई ---
क) दुईचारवटा प्रश्न सोद्धैमा 'प्रश्नहरूको कारखाना' हुन्छ?
ख) प्रश्नहरूको कारखाना खोलेर समाज रुपान्तरण हुन्छ कि त्यसको उत्तर दिएर ?
ग) बाहुनवादी सोचको विरोध गर्छु भन्नेको आवारणमै 'चुच्चो नाक' ! किन?
घ) .........
...........
...........
यस्ता प्रश्नहरू मलाई सोध्नु छैन - सरितासङ्ग !
---------
सरिता तिवारीलाई (उनको सामर्थ्य र शक्तिलाई) नचिन्नेहरूका लागि कविता सङ्ग्रह 'प्रश्नहरूको कारखाना' सुन्दर कविता कृति हो । कुनै एक वादको घेरा भित्र रहने खोज्नेहरूलाई यो सङ्ग्रह 'मास्टर पिस' होला । ......... । .......... । .......... ।
------
१५० पृष्ठ रहेको 'प्रश्नहरूको कारखाना'मा ३४ वटा कविताहरू छन् - 'आदिवासी' खण्डमा ५ वटा, 'के तिमीले मलाई आविष्कार ग-यौ?' खण्डमा ११ वटा र 'युद्धको सौन्दर्य' खण्डमा १८ वटा । कविताहरू छन् - पृष्ठ ९ देखि ११५ सम्म । पछिल्ला ३४ पृष्ठ, विना प्रश्नका अन्तर्वार्ता छन् - आफैँले आफैँलाई दिएको; एक किसिमको रोइलो - आत्मतुष्टिको लागि ।
------
'आदिवासी' खण्डका पाँच कविताहरुले सरितालाई 'सरिता तिवारी' भनेर चिनाउन सक्षम छन् । यी मौलिक कविता हुन् । यिनलाई बुन्न उनले आफू भित्रको 'म'लाई फिल्डमा उतारेकी छिन् । जब 'म' फिल्डमा उत्रिन्छ तब कविता बबन्डर भएर आफै बाटो बनाउँदै हिड्छ । यस्ता कविताहरूले भाइब्रेट गराउँछन्, अध्ययन गर्न बाध्य बनाउँछन्, कानमा कोचिएको कबास उडाउँछन् र आवाज सुनाएर जान्छन् ।
"मेरो सिरानीमुनिबाट खुसुक्क निकालेर
जसले लगेको छ
आमाले राखिदिएको मेरो नाम
त्यही नामको खोजीमा
निस्केको छु म ।
नाम खोज्न निस्केको यो मानिससित
नसोध्नु झुक्किएर पनि
तोर नाउँ कथि हलही?"
(दुखवा ! तोर नाउँ कथि हलही?, २३)
--------
बाँकी २९ कविता मध्ये 'भकुन्डो', 'बा', 'पेट' र 'जिब्रो' मलाई मन परेका कविता हुन् ।
सङ्ग्रहका अधिकांश कवितामा त्यो दम छैन जुन 'दम'को अपेक्षा समालोचनाकर्ममा भिडेकी सरिता तिवारीबाट गरिएको थियो । 'के तिमीले मलाई आविष्कार ग-यौ?' खण्डका सबै कविताहरू चितवनको साहित्यवृत भित्र देखिने गरेको निषेध, अन्तरविरोधका उत्तर जस्ता देखिन्छन् :
"जन्मजात
मैले लिएर आएकी छु आफूसँग
एउटा नैसर्गिक अनुहार
म दिन्नँ कसैलाई
आविष्कारको मोहर लगाएर
नृशंशतापूर्वक
आफ्नो अनुहारमाथि शासन गरिरहन । "
('के तिमीले मलाई आविष्कार ग-यौ?', ३१)
+++++
"मलाई देखेर
मेरा आफन्त, प्रियजन
अतिशय आजित छन्, त्रसित छन्
र सोधिरहेछन् डाक्टरसँग
'कहाँ पाइन्छ हजुर विचारदंशको औषधि ?'"
(विचार, ३९)
-------
'युद्धको सौन्दर्य' खण्डका कविताहरू गणतन्त्रपछिका कविता हुन्न् भन्न सकिन्छ । तर उनका यस खण्डका कवितामा पनि उही पुरानै बिम्ब, उही पुरानै चियागफ, उही पुरानै पढेँराको कानेखुसी भन्दामाथि उठ्न सकेनन् । कविताको बुनाई, शब्द छनौटले त्यसरी तान्न सकेनन् जसरी तानिने अपेक्षा गरिएको थियो।
"निर्भय छन्
निश्चिन्त छन्
थाहा छैन र पनि देश वा समय
ती सुन्छन् एकादेशको कथा
कुनै काल
कुनै दिष्ट राक्षस
वा कुनै हसल मानिसको कथा
चनाखा छन्
फुर्तिला छन्
सुन्न चाहन्छन्
निल आर्मस्ट्रङको जीवनी र नेल्सन मण्डेलाको सङ्घर्ष
जान्न चाहन्छन्
मानिसको उत्पत्ति र विकासको इतिहास
........."
(नगाऊ कसैले शोकगीत, ८८)
---------------
सिर्जनाको शक्ति त्यो हो जस्को अध्ययनले सर्वधर्म, सर्वराजनीति, सर्वशक्ति, सर्वपक्षलाई भाइब्रेट गराइ दिन्छ । 'प्रश्नहरूको कारखाना'मा त्यसरी सबै तह तप्कालाई भाइब्रेट गर्न सक्ने सामर्थ्य मैले पाइनँ । कुनै एकै राजनैतिक दर्शनबाट थला परेको 'प्रश्नहरूको कारखाना' आफै प्रश्नहरूको चौघेरामा बाँधिएको छ ।
"सरितामा सामर्थ्य छैन ??" - किमार्थ होइन । उनको अनुभव, अध्ययन, तार्किक क्षमता, सिर्जनशीलता, उनीभित्रको 'म'लाई, आदिलाई "आ, भैहाल्छ नि !" भन्ने सोचले घेरेको आभाष हुन्छ ।
सरिता तिवारी त्यो सोचलाई चिर्न सक्ने सामर्थ्य राख्छिन् र आउँदा कृतिमा चिर्ने छिन् भन्ने आशा अझै मरिसकेको छैन ।