Thaha

Monday 29 May - 9:02 pm NST

सुसिल कोईराला पार्टी निजामतिकरणको उदाहरण: प्रदिप गिरि

जोरसोरले  महाधिवेशनको तयारी चलिरहँदा सभापति सुसिल कोईरालाको निधन भएपछि नेपाली कांग्रेस सबैभन्दा धेरै तरंगित भएको छ। भनिन्थ्यो- कोईराला पून: सभापति पदको आकांक्षी हुनुहुन्थ्यो। उहाँको निधनले  कांग्रेसलाई  के फरक पर्छ? कांग्रेस नेता प्रदिप गिरिलाई थाहा नेटवर्कको ७ प्रश्न।

पछिल्लो समयमा तपाँई उहाँको स्वास्थ्यस्थितिबारे कत्तिको जानकार हुनुहुन्थ्यो? के तपाँईका लागि पनि उहाँको निधनको खबर उत्तिकै अप्रत्यासित थियो जति आमसर्वसाधारणलाई लागिरहेको छ?

उहाँलाई क्यान्सर थियो। क्यान्सरको अपरेसन पनि गरिएको थियो। तर उहाँको मृत्यु क्यान्सरकै कारण भएझैं देखिंदैन। यद्यपी उहाँको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको थियो। उहाँको स्वास्थ्यस्थितिबारे यत्ति त सबैले जान्दथे।

उहाँको निधनपछि अब उहाँको जिवनको मुल्यांकन गर्नु बस्तुनिष्ठ हुन्छ।  सुसिल कोईरालाको नाम लिनेवित्तिकै तपाँई के सम्झनुहुन्छ?

जस्तै पाशविक मान्छेमा पनि केहि भावुकता रहन्छ मृत्युको बारेमा। मृत्यूबारे कोहिपनि निरपेक्ष रहन सक्दैन।

सुसिल कोईरालाको कुरा गर्दा उहाँले होश सम्हालेदेखि कोईराला परिवारको सेवामा आँफुलाई दिनरात लगाउनुभयो। कोईराला त उहाँ पनि हुनुहुन्थ्यो। कोईराला भनेर म बिपि र गिरिजाप्रसादको कुरा गर्दैछु। बिवाह गर्नुभएन। निश्चय नै उहाँको जिवनलाई सादगिपूर्ण भन्न सकिन्छ। आजकल राजनिति अर्कै भएको छ। मान्छे यहाँ हिसाब लगाएर आँउछन्। एक सय रुपैंया लगाएर पाँच सय कमाँउछु भनेर आँउछन्। त्यस्ता प्रबृत्तिबाट सुसिल कोईराला मुक्त हुनुहुन्थ्यो। मुख्य कुरा यो हो।

यो उहाँको सबभन्दा सकारात्मक पक्ष हो। यसबाट आजको युवापिढिले वा सवैले, जो कहिलेकाँहि यसो अडेर जिवनको बारेमा सोच्दछ– जिवन के हो, मृत्यु के हो, मनुष्यले जिवनमा के हासिल गर्छ, यो दौडधुप केका लागि हो, किन हामी स–साना छुद्रतालाई अंगिकार गरिराखेका छौं भन्नेजस्ता विषयमा सुसिलको जिवनलाई हेरेर एउटा तात्विक निष्कर्षमा पुग्न सक्छ।

उहाँले सवैभन्दा धेरै दोहो-याउने शव्दमध्येको एक थियो डेमोक्रेसी। उहाँको छवि प्रजातन्त्रप्रति प्रतिबद्ध नेताको छ। उहाँको जिवनको मुल विश्वास के थियो? कुन मान्यताले उहाँलाई आजिवन डो-यायो?

सुसिलको पुस्ता मेरो पुस्ता पनि हो। प्रजातन्त्रका लागि हामीले सँगै संघर्ष गरेका हौं।  त्यतिखेर पञ्चायतबिरुद्ध लड्दा अरु नारा वा अरु माग प्राथमिक थिएन– प्रजातन्त्रै मूख्य थियो।

द्धितिय विश्वयूद्धपछि दुनियाँमा केहि राजनितिक परिवर्तनहरु देखिएका थिए। एकातिर कम्यूनिष्टहरुले एकदलिय व्यवस्था कायम गरे- जस्तो कि सोभियत युनियन र चिन। उनिहरुले जनवादी गणतन्त्र चाहिन्छ भने र त्यै अनुरुपको अभ्यास गरे। जनवादी गणतन्त्रमा लेख्ने-बोल्ने आजादी, पार्टी खोल्ने आजादी र चुनाव लड्ने परिपाटी हुँदैनथ्यो। अर्कातिर, एकथरिले प्रजातन्त्र चाहिन्छ भने। हाम्रो पुस्ताले बुझेको वा मानेको प्रजातन्त्रलाई कम्यूनिष्टहरु बुर्जुवा प्रजातन्त्र भन्थे। अब त्यो बुर्जुवा हो कि होईन, थियो कि थिएन अलग बिषय हो। तर निश्चय नै हामी एउटा व्यवस्थाका पक्षमा लड्यौं, जसमा बालिग मताधिकारका आधारमा चुनाव हुने, निश्चित समयमा चुनाव हुने, दल खोल्ने अधिकार हुने, भाषण इत्यादि गतिविधि गर्न पाउने परिपाटि हुन्थ्यो।

सुसिल कोईराला त्यहि प्रजातन्त्रका लागि लड्नुभएको हो।

त्यो प्रजातन्त्रको नकारात्मक पक्ष पनि थियो। त्यो पुँजिबादी प्रजातन्त्र थिएन! बुर्जुवा प्रजातन्त्र त थिएन! तैपनि समाजबादको जुन सार तत्व हो त्यसलाई ओझेलमा राख्ने काम भने यसले ग-यो। भन्न के खोजेको भने- लगत्तै विश्वयुद्धपछि शितयूद्ध आयो। शितयुद्धमा प्रजातान्त्रिक आन्दोलनहरुले अरुलाई धुलो चटाउने नाममा प्रजातन्त्र शब्दमात्रै बाँकि राखेर यसका अरु सार तत्वलाई बिर्सिदिए।

त्यसैले सुसिल कोईरालाको प्रजातन्त्र पनि अरु सामाजिक वा आर्थिक परिवर्तनका लागि जति हुनुपर्दथ्यो -त्यति जागरुक भने थिएन।

उहाँको राजनितिक र व्यक्तिगत जीवन एकै थियो कि, यि फरक-फरक कुरा हुन्?

मेरो उहाँसंग बनारसदेखिको संगत हो। पछि नेपाल फर्किएपछि एउटै पार्टीमा रहेपनि हाम्रो राजनितिक धार केहि भिन्न रह्यो। उहाँ गिरिजाबाबुको एक्का भएर रहनुभयो। सुसिलले गिरिजाबाबुले गर्नुभएका सम्पूर्ण गतिविधिलाई सघाँउदै जानुभयो। हामीले आलोचना गर्दै गयौं। खासगरि पार्टी सञ्चालनको तौरतरिका हेर्ने हो भने गिरिजबाबुलाई भन्दा पनि सुसिल कोईरालालाई बढि भार हुन्थ्यो। सुसिललाई अघि सारेर गिरिजाबाबु आफ्नो सारा काम लिनुहुन्थ्यो। तर म आजैका दिनमा सुसिल कोईरालाका थप क्रियाकलापबारे त्यति टिप्पणी गरिहाल्न चाहन्न।

एउटै कुरा भन्छु, पार्टी जीवनमा आँफुलाई पूर्णत समर्पित गरेर, आफ्ना अन्य सानातिना महत्वकांक्षा, परिवारिक र भावनात्मक आग्रह छाडेर सुसिल आजिवन पार्टीमा लाग्नुभयो। त्यसका लागि हामीले उहाँलाई नमन गर्नैपर्छ। एक हदसम्म यो काम अघि कृष्णप्रसादले गर्नुभएको थियो। अब सुसिलको पालामा उहाँको कार्याकालमा पार्टी कसरी चल्यो, आज कसरी चलेको छ, एकपटक नराम्ररी चुनाव हारेको पार्टी पछि फेरि अलि माथि आयो– यि सब कुराहरुलाई हामीले भावुक नभईकन स्थिर भएर सोच्नुपर्छ। भावुकताबाट उम्किईसकेपछि यो बिषयमा फेरि कुरा गरौंला।

बनारसदेखिको सहकार्य स्मरण गर्नुभयो। उहाँको सन्ध्याकालमाचाँहिं तपाँई कत्तिको संगतमा हुनुहुन्थ्यो? केकस्ता विषयमा कुराकानी हुन्थे?

पछिल्लो समयमा त्यति थिएन। कहिलेकाँहि वर्किङ कमिटिमा भेट हुन्थ्यो, त्यत्ति हो। तपाँईलाई थाहै छ, म एकान्तप्रिय मान्छे हुँ। लेखपढमा धेरै समय बिताँउछु। सुसिलसंगमात्रै होईन, अरु साथीहरुसंग पनि मेरो उति बाक्लो भेटघाट हुँदैन।

तपाँईले कांगेसका धेरै नेतृत्वसंग काम गर्नुभयो, कांगे्रस सभापतिको रुपमा तपाँईले उहाँलाई कस्तो पाउनुभयो?

उहाँ जब सभापति हुनुभयो, त्यो तथ्यलाई हामीले स्वागत ग-यौं। मैले त्यतिखेरै भन्याथें, उहाँको व्यक्तित्वमा त्यति चमक छैन, तैपनि व्यक्तित्व नै सम्पूर्ण कुरा पनि होईन। सभापति भईसकेपछि उहाँबाट केहि आशा थियो कि पार्टीका विभिन्न कमिटिहरुलाई पूनर्गठन गर्नुहोला, विभिन्न विभागहरुलाई संयोजन गर्नुहोला, कार्यसम्पादन समिति खडा गर्नुहोला– त्यो भएन। मधेसको अहिले जुन समस्या छ– भोलि के हुने हो त्यो पनि थाहा छैन- त्यतातिर पनि खासै केहि भएन। यो हिसावले उहाँका अन्तिम बर्षहरु केहि निराशाजनक रह्यो।

उहाँको निधनले पार्ने प्रभावको कुरा गरौं। लामो समय राजनितिमा सकृय रहनुभएका, जिवनको उत्तरार्धमा देशकै ठूलो दल कांग्रेसको नेतृत्व गर्नुभएका र अत्यन्तै संवेदनशिल समयमा सरकारको समेत नेतृत्व गर्नुभएका सुसिल कोईरालाको निधनले जारी राजनितिक प्रकृयामा के अन्तर पार्छ? खासगरि कांग्रेसलाई के फरक पर्छ?

पहिले यो कुरा बुझ्नुस्, सुसिल कोईराला कसरी एकसाथ नेपाली कांग्रेसको सभापति र सरकारको प्रधानमन्त्री हुनपुग्नुभयो! पहिले उहाँको राजनितिक योगदानलाई हेरौं।

सुसिलको सबैभन्दा ठूलो योगदान अद्भुत राजनितिक निरन्तरता नै हो। पार्टीको घेरोबाट उहाँ कहिल्यै बाहिर निस्कन चाहनुभएन। पार्टिका नेताहरुको जे विचार थियो, त्यो नै उहाँको विचार थियो। उहाँले कुनै नयाँ बिचार ल्याउनुभएन। यो के हो त? जसरी निजामती सेवामा एउटा सामान्य तहको कर्मचारीले हाकिमलाई रिझाउन सक्यो भने माथि–माथि चढ्दै जान्छ र यथासमयमा सचिव उपसचिव सम्म हुनसक्छ। पर्टीभित्र पनि यस्तै हुन्छ। सुसिल कोईराला कांग्रेसमा निजामतिकरण गतिलो उदाहरण हुनुहुन्छ।

गिरिजाबाबुले चुनौति मोलेर माओबादीलाई मूलधारमा ल्याउनुभयो। बिपि एकपटक हतियार उठाउनतिर लाग्नुभयो अर्कोतिर राजासंग मिल्ने कुरा गर्नुभयो। कृष्णप्रसादले संधैभरि सत्याग्रह सत्याग्रह भनिराख्नुभयो। त्यस्तै सुवर्णबाबुले पहिल्यै भन्नुभएको थियो– बाहिर गएर केहि गर्न सकिंदैन, जे गर्ने हो यहिं गर्नुपर्छ।

तर, सिंगो नेपाली कांग्रेसको ईतिहाँसमा सुसिल कोईरालाले फलानो बेला फलानो कुरा राख्नुभयो भन्ने सुनिएको छैन। अथवा फलानो नेतासंग मत बझाउनुभयो भन्ने सुनिएको छैन। यति हुँदाहुँदै पनि सुसिल कोईरालाले नेपाली कांगे्रसको ईतिहाँसमा जति सत्ता प्राप्त गर्नुभयो, जति अधिकार प्राप्त गर्नुभयो, त्यति अरु कसैले प्राप्त गरेको छैन। न गिरिजाप्रसाद, न कृष्णप्रसाद! बिपिको त कुरै छोड्नुस्। यो पार्टी निजामतिकरणको परिणाम थियो।

मलाई लाग्छ, सुसिलको अभ्यास सकिएपछि अब पार्टीभित्र नयाँ कुरा आँउछ। अब आँफुले केहि गरेर देखाएर मान्छेहरु अगाडि आँउछन्। पार्टीभित्र प्रतिस्पर्धा बढ्छ। तत्काल आजको भोलि नै केहि हुन नसक्ला, तर अब नयाँ पुस्ताले नेपाली कांगे्रसको नेतृत्व गर्ने समय आएको छ। हिजोको ब्याज भजाएर, निरन्तरताको कुरा सुनाएर अब केहि हुँदैन।  सुसिललाई श्रद्धाञ्जली दिंदै अहिलेलाई हामीले बुझ्नुपर्ने कुरा यहि हो।