Thaha

Tuesday 23 April - 4:13 pm NST

थाईल्याण्डमा नयाँ संविधानबारे जनमत संग्रह हुँदै,


काठमाडौं, साउन २३ गते । थाईल्याण्डमा नयाँ संविधानबारे आज जनमतसंग्रह हुँदैछ । सेनाद्वारा गठित कमिटिले तयार पारेको नयाँ संविधानमाथि जनमत संग्रह गरिएको हो । उपप्रधान तथा रक्षामन्त्री प्रावित वोङ्गसुवोनले मतदानको शुरुवात गर्दै सबै नागरिकलाई संविधानप्रति आफ्नो मत जाहेर गर्न आग्रह गर्नुभएको बैंकक पोष्टले जनाएको छ ।  उहाँले जनमत संग्रह निष्पक्ष र पारदर्शी हुने भन्दै यसको नतिजाले देशका लागि नागरिकको सही चाहनाको प्रतिनिधीत्व गर्ने बताउनुभएको छ । सेनाले सन् २०१४ मा सत्ता आफ्नो हातमा लिएपछि पुरानो संविधान खारेज गर्दै नयाँ संविधान बनाउने घोषणा गरेको थियो । सेनाले जनमत संग्रहबाट संविधान स्वीकृत भएमा देशमा पूर्ण लोकतन्त्र कायम गर्ने दिशामा महत्वपूर्ण कदम हुने बताएको छ । तर विपक्षीहरुले भने जनमत संग्रहका बारेमा अभियान चलाउन नदिईएकाले मतदान निष्पक्ष नभएको बताएका छन् । उनीहरुले  नयाँ संविधानले सेनालाई असिमित अधिकार दिने भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले ल्याएको जनमत संग्रह ऐनले जनमत संग्रहबारे श्रव्यदृश्य सामाग्री प्रसार गर्ने कार्यलाई आपराधीक कार्यका रुपमा व्याख्या गरेको छ । ऐन उल्लंघन गरेको आरोपमा १७ जनालाई पक्राउ गरी १० वर्षको जेल सजायँ दिएको छ । जनमत संग्रहमा ४ करोड मतदाताले नयाँ संविधानको पक्ष वा विपक्षमा मत दिनेछन् । पक्षमा मत आए नयाँ संविधानले सेनालाई आम चुनाव गराउने वैधानिकता दिनेछ । तर विपक्षमा मत आए के हुने भन्ने निश्चितता छैन । संविधानमा २ सय ५० सदस्यीय सिनेटका सदस्य सैन्य सरकारले मनोनयन गर्ने प्रावधान राखिएको छ । सन् २०१४ मा भएको सैन्य कु अघि माथिल्लो सदनका आधा भन्दा बढी सदस्य निर्वाचित र बाँकी मनोनित हुने व्यवस्था गरिएको थियो ।