Thaha

Thursday 25 April - 10:55 am NST

रियो ओलम्पिकको १२ वटा स्वर्ण पदकको छिनोफानो


काठमाडौं, साउन २३ गते । ब्राजिलमा चलिरहेको रियो ओलम्पिकमा पहिलो दिन १२ स्वर्ण पदकको टुंगो लागेको छ । अष्ट्रेलिया र हंगेरीले २÷२ तथा अमेरिका, दक्षिण कोरिया, जापान, अर्जेन्टिना, बेल्जियम, रुस, थाईल्याण्ड र भियतनामले एक÷एक स्वर्ण पदक जितेका छन् । अमेरिकाकी भर्जिनिया थ्रासेरले जारी ओलम्पिकको पहिलो स्वर्ण जितिन् । उनले १० मिटर एयर राईफलमा स्वर्ण पदक हात पारेकी हुन् । अष्ट्रेलियाले पौडीतर्फ पुरुष ४ सय मिटर फ्रिस्टाईल र महिला ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेको हो । हंगेरीले फेन्सिङ्ग तर्फ महिला एकल र पौडीतर्फ ४ सय मिटर ईन्डिभिज्युअल मिड्लेमा स्वर्ण जित्यो । हंगेरीकी कातिन्का होस्जुले लण्डन ओलम्पिकमा चीनकी यी शिवेनले बनाएको रेकर्ड तोड्दै ईन्डिभिज्युअल मिड्लेमा ४ मिनेट २६ दशमलव ३६ सेकेन्डको नयाँ किर्तिमान कायम गरीन् । पदक तालिकामा अष्ट्रेलिया दुई स्वर्ण एक काँस्य सहित तीन पदकका साथ शीर्ष स्थानमा छ । यस्तै हंगेरी २ स्वर्ण सहित दोश्रो, अमेरिका एक स्वर्ण ४ रजत सहित तेश्रो, दक्षिण कोरिया एक स्वर्ण, एक रजत सहित चौथो र जापान एक स्वर्ण ४ कास्य सहित पाँचौं स्थानमा छन् । ओलम्पिक अन्तर्गत नेपाली खेलाडी गौरीका सिंहले पौडीको महिला १ सय मिटर ब्याक स्ट्रोकको प्रारम्भिक चरणमा आज प्रतिस्पर्धा गर्दै छिन् । उनको खेल नेपाली समय अनुसार राती पौने १० बजेपछि शुरु हुनेछ ।