Thaha

Thursday 18 April - 11:50 am NST

आइसिसी च्याम्पियनसिपमा भाग लिन नेपाली टोली नेदरल्याण्डस प्रस्थान


काठमाडौं, साउन २२ गते । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स विरुद्वको खेलका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । कप्तान पारस खड्का नेतृत्वको टोली बिहान नेदरल्याण्ड्स प्रस्थान गरेको हो । टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बिदाई गर्नुभएको थियो । नेदरल्याण्डस् जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाहा संचार नेटवर्कसंग कुरा गर्दै कप्तान खड्काले आफूहरु सकेसम्म राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले हालै भएको इंग्ल्याण्ड भ्रमणले नेपाली टोलीलाई फाईदा पुगेको भन्दै  बलिङ्ग र ब्याटिङ्गमा टिम सन्तुलित भएकाले नेदरल्याण्डस् विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । नेपालले यही साउन २९ र ३१ गते नेदरल्याण्डस्संग खेल्नेछ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ ।