Thaha

Thursday 25 April - 3:58 am NST

भौतिक संरचनाहरु पूर्ण रुपमा अपाङ्गमैत्री बन्न सकेन


काठमाडौं, साउन २१ । भौतिक संरचना निर्माणमा अपांगता भएका व्यक्तिको सुविधालाई ध्यान दिन थालिएपनि त्यो पर्याप्त नभएको राष्ट्रिय अपांग महासंघले जनाएको छ । सडक तथा सरकारी र नीजि क्षेत्रका अरु भौतिक संरचना बनाउँदा अपांग मैत्री बनाउनुपर्छ भन्ने सोचको बिकास भएपनि सुरक्षित हुन नसकेको महासंघका महासचिव राजु बस्नेतले बताउनुभयो । पछिल्लो समय काठमाण्डुका विभिन्न सडकमा दृष्टिविहिन र व्हिलचेयरमा हिड्नुपर्नेहरुका लागि सहज बनाउन विशेष खालको टायल राखिएको छ । तर ति टायल राख्दा भत्काईएको ठाउँ र खाल्डाहरु त्यत्तिकै छोडिंदा दुर्घटनाको जोखिम बढेको बस्नेतले बताउनुभयो । त्यस्तै ठूला भवनहरु निर्माणका क्रममा पनि धेरैजसो अपांगता भएकाहरुको पूर्ण सुविधालाई ध्यान राखेको नपाईएको उहाँको भनाई छ । संरचनाहरु अपांग मैत्री भएपनि सेवा दिने मानिस पहुँच नपुग्ने ठाउँमा बस्दा मर्का परिरहेको भन्दै उहाँले भौतिक पूर्वाधारहरु मात्रै नभई व्यवहार र कार्यसम्पादन पनि अपांगमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

अपांगता भएका व्यक्तिहरुलाई केन्द्रमा राखेर भौतिक संरचना बनाए अरुका लागि पनि फाईदाजनक हुनसक्छ भन्ने सोचको विकास हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हुने बस्नेतको भनाई छ । सरकारले अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सन्चार सेवा निर्देशिका २०६९ जारी गरेको छ । तर सार्वजनिक सेवाहरु पूर्ण रुपमा अपाङ्ग मैत्री अझै बन्न सकेका छैनन् ।