Thaha

Friday 19 April - 3:42 pm NST

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण गर्दै


काठमाण्डौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा हुने विशेष समारोहमा सपथ ग्रहण गरेलगत्तै प्रचण्डले सहिद स्तम्भ लैनचौरमा माल्र्यार्पण गर्नुहुनेछ । त्यसपछि पुष्पलाल स्मृति पार्क चम्पादेवीमा, बेलुकी ५ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको सहिद तथा बेपत्ता योद्धा स्तम्भमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । त्यसपछि प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा पदबहाली गर्नुहुनेछ । प्रचण्डले सानो आकारको मन्त्रीपरिषद् आजै गठन गर्नुहुनेछ । नियुक्त हुने मन्त्रीहरुलाई पनि आजै सपथ ग्रहण गराउने तयरी गरिएको छ । आज कांग्रेस र माओवादी केन्द्रबाट केही नेता मन्त्री बन्नेछन् । कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ । राप्रपाले २ वटा मन्त्रालय पाउनेछ भने ३ वटा मन्त्रालय साना दललाई छु्ट्याइएको छ । मधेसी मोर्चाका लागि केही मन्त्रालय खाली राखिनेछ । प्रचण्ड हिजो ३ सय ६३ मतसहित मुलुकको ३९औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।