Thaha

Friday 19 April - 8:44 pm NST

रियो ओलम्पिकका खेल आजदेखि सुरु हुँदै

काठमाण्डौँ, साउन १९ । ब्राजिलको रियो दि जेनेरियोमा हुन लागेको ओलम्पिक खेल अन्तर्गत फूटबलका खेल आजदेखि शुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन हुनु दुई दिन अघि नै फूटबल अन्तर्गतका प्रतिस्पर्धा शुरु हुन लागेको हो । नेपाली समय अनुसार राती पौने १० बजेदेखि शुरु हुने खेलमा महिला फूटबलको समूह चरणका खेल हुनेछन् । समूह चरणमा आज स्वीडेन र दक्षिण अफ्रिका, क्यानडा र अष्ट्रेलिया, ब्राजिल र चीन, जिम्बाबे र जर्मनी, अमेरिका र न्यूजील्याण्ड तथा फ्रान्स र कोलम्बिया भिड्नेछन् । खेल तालिकालाई ध्यानमा राखी ओलम्पिकको औपचारिक शुरुवात हुनु अघि नै फूटबल प्रतिस्पर्धा सन्चालन गर्ने गरिएको छ । ओलम्पिकमा फूटबलतर्फ १२ महिला टोली र १६ पुरुष टोली सहभागी छन् । पुरुष तर्फको फुटबल प्रतिस्पर्धा भोलिदेखि शुरु हुनेछ । ओलम्पिक खेलको औपचारिक उद्घाटन भने पर्सी शुक्रबार हुँदैछ ।