Thaha

Friday 19 April - 8:51 pm NST

भारतमा पुल भत्किदा गाडी सहित २२ जना बेपत्ता


काठमाण्डौँ, साउन १९ । भारतको मुम्बई–गोवा राजमार्गमा बाढीका कारण पुल भत्किंदा सवारीसाधन सहित २२ जना नदीमा बेपत्ता भएका छन् । मुम्बई–गोवा राजमार्गमा पर्ने साबित्री नदीमाथिको पुल बाढीका कारण गएराती भत्किएको हो । पुलको ८० प्रतिशत भाग भत्किएर नदिमा खसेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । पुल भत्किंदा १२ देखि १५ वटा गाडीले पुल पार गर्न लागेको र ति मध्ये २ वटा बस र अरु केही गाडी खसेका बताईएको छ । ति गाडीमा रहेका २२ जना बेपत्ता छन् । स्थानीय प्रशासनले उद्धार तथा राहतका लागि ५० जना भन्दा बढी उद्धारकर्ता खटाईएको जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणनविसले महाबलेश्वर क्षेत्रमा भारी वर्षाका कारण नदीमा पानीको स्तर बढेर पुल भत्किएको बताउनुभएको छ । उहाँका अनुसार भत्किएको पुल संगै बनेको अर्को पूलबाट अहिले यातायात सन्चालन भईरहेको छ । भारी वर्षाका कारण महाराष्ट्रका धेरै भाग प्रभावित भएका छन् । अहमदनगरमा २४ घण्टामा ४ सय ८१ मिलिमिटर पानी परेको छ ।

मौसम विभागका अनुसार महाराष्ट्रमा यो वर्षको मनसुनमा एक दिनमा यति धेरै पानी परेको यो पहिलो पल्ट हो । नासिकमा ९२ गाउँ डुबानमा परेसंगै दुई दिनका लागि हाई अलर्ट जारी गरिएको छ ।