Thaha

Friday 19 April - 8:52 am NST

मधेशी मोर्चा र काँग्रेस माओवादीका शीर्ष नेताबीच निर्णायक वार्ता जारी


काठमाण्डौँ, साउन १९ । नयाँ सत्ता समीकरणमा रहेका काँग्रेस–माओवादीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग अहिले निर्णायक वार्ता भइरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीका उमेद्बार पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच निर्णायक वार्ता भइरहेको हो । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सहमति भए मोर्चाले काँग्रेस–माओवादी गठबन्धनबाट प्रधानमन्त्रीका उमेद्बार प्रचण्डलाई मतदान गर्नेछ । हिजो अन्तिम समयमा काँग्रेस र माओवादीका नेताहरु पछि हटेपछि सहमति बिथोलिएको भन्दै सहमतिमा हस्ताक्षर नभइ प्रचण्डलाई मतदान नगर्ने चेतावनी मोर्चाका नेताले दिएका थिए ।  

हिजो बसेको त्रिपक्षीय कार्यदलको बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार र उचित क्षतिपुर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने प्रमुख तीन विषयमा केन्द्रित रहेर छलफल गरेको थियो ।