Thaha

Wednesday 24 April - 2:54 pm NST

आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै


काठमाडौं, १७ साउन । 
आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि टोलवासीले छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।

परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले दहन गरिएको नेवारी समुदायमा कथन छ । आजको दिन घरको ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे ओदान गाडिन्छ भने घरबाहिर खाना, रक्ति, जाँड, मासु, छ्यापी चढाउने गरिन्छ, । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न फलामको औंठी लाउने चलन पनि रहेको छ ।

यसैबिच आज तेस्रो साउने सोमबार । हिन्दुमहिलाहरुको पशुपतिलगायत विभिन्न शिब मन्दिहरुमा घुँइचो लागेको छ । महिलाहरुले साउनको हरेक सोमबारका दिन ब्रत बस्ने र शिवमन्दिरहरुमा गएर पुजापाठ गर्ने गर्दछन् । हरियो चुरा, पोते तथा रातो पहिरनमा सजिएका महिलाहरुको आज चहलपहल छ ।