Thaha

Wednesday 24 April - 5:03 am NST

नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने तयारी


काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने तयारी गर्नुभएको छ । नयाँ सरकार गठनका लागि संवैधानिक बाटो सहज गर्नका लागि भन्दै सरकारले हिजो राष्ट्रपति समक्ष संविधानको धारा ३ सय ५ बमोजिम बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भइसकेको अवस्थामा राष्ट्रपति भण्डारी पनि नयाँ सरकार गठनमा ढिलाइ गर्न नहुने पक्षमा रहेकाले आजै बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने संभावना रहेको उहाँको निजी सचिवालयले जनाएको छ । राष्ट्रपतिले जारी गरेको आदेश संसदले अनुमोदन गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रपतिले ७ दिन भित्र राजनीतिक सहमतिका आधारमा सरकार गठनका लागि आव्हान गर्नुहुनेछ । त्यसमा सहमति नजुटे बहुमतीय प्रक्रियामा नयाँ सरकार गठन हुनेछ ।