Thaha

Friday 19 April - 3:50 am NST

गोरखाको केरौंजामा पहिरोले पुरिँदा ३ जनाको ज्यान गयो, ३ घाइते


काठमाडौं, २१ असार । 
उत्तरी गोरखाको केरौंजा–३,  केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीनजनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ । फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया तामाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । आज बिहान ११ बजे झरेको पहिरोमा परी केरौंजा–४ का ४० वर्षीय टुङ्गे गुरुङ, कृष्ण गुरुङ र सुकराम घले घाइते हुनुभएको छ ।  घाइतेहरुको टाउको र हातगोडामा चोट लागेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेलाई उपचार गर्न माछाखोलास्थित स्वास्थ्य चौकीमा लगिएको छ । पहिरोमा ज्यान गुमाएकाहरुको शवलाई पहिरो बाहिर निकालिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौं  ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । वर्षाका कारण केरौंजाको चारैतिर पहिरो झरेको छ । पहिरोले अवरुद्ध भएको बाटो मर्मतका लागि जाने क्रममा स्थानीयवासी पहिरोमा परेको स्थानियले बताएका छन् ।