Thaha

Saturday 20 April - 10:03 am NST

अनुदानबाट बन्चित गराईएको भन्दै भुकम्पपीडीतको उजुरी. झण्डै ८७ हजार गुनासो दर्ता


काठमाण्डौं, असार १५ । सरकारी अनुदान पाउनबाट आफूहरु बञ्चित हुन लागेको भन्दै झन्डै ८७ हजार भुकम्पपीडितले गुनासो दर्ता गरेका छन् । अहिलेसम्म ८६ हजार ४ सय २३ वटा गुनासो दर्ता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

पीडितले आफ्नो घर भत्किएको अवस्थामा पनि अनुदान दिने सुचिमा छुट्टाएको र लालपूर्जाको समस्यासहित गुनासो दर्ता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास बनाउन अनुदान वितरण जारी राखेका ११ जिल्लाबाट ती गुनासो प्राप्त भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई उद्धृत गर्दै प्राधिकरणका सह–प्रवक्ता डाक्टर भीष्म भुषालले जानकारी दिनुभयो । उहाँले गुनासोहरुमाथि छानबिन भईरहेको भन्दै अनुदान पाउने मापदण्डभित्र परेमा पीडितलाई अनुदान दिइने आश्वासन दिनुभयो ।

भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता भएकामध्ये ११ हजार ८ सय ४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भएको प्राधिकरणले जनाएको छ । सरकारले अतिप्रभावित जिल्लामध्ये नुवाकोट, सिन्धुपाल्चोक, गोर्खा, काभ्रेपलाञ्चोक लगायत ११ जिल्लाका मात्रै साढे ५ लाख नागरिकलाई अनुदान दिनुपर्नेछ ।

पहिलो किस्तामा प्रतिघर धनी ५० हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामार्फत् अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ । पहिलो किस्ताबाट भूकम्प प्रतिरोधी विधिअनुसार नागरिकले जग र प्लिन्थसम्मको काम सक्नुपर्छ ।